Logo

अन्तर्राष्ट्रिय

भारत भ्रमणमा के के छ नेपालको चासो ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण आजबाट सुरु भएको छ । चार दिने भ्रमणमा नेपाल र भारतबीच महत्वपूर्ण छलफल र सम्झौता हुने गरी नेपाली टोलीले तयारी गरेको छ ।

प्रधानमन्त्री सँगै भारत भ्रमणमा नेपालका अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललगायत उच्च पदस्थ कर्मचारी, उद्योगी तथा व्यापारी पनि सहभागी छन् । भारत भ्रमणमा केही ऐतिहासिक निर्णय गर्ने गरी तयारी अगाडि बढाइएको बताएका प्रधानमन्त्री प्रचण्डले विशेष त नेपालको उर्जा क्षेत्रमा विशेष सम्झौता गर्ने गरी तयारी गरेको बताइएको छ ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत भ्रमणमा गएको हो । भ्रमण टोलीमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँगै निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्र्मिला श्रेष्ठ छन् । निजी क्षेत्रले दुई पक्षीय व्यापार, लगानी, भन्सार सहजिकरणलगायतका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भारतीय व्यवसायीहरुसँग ऊर्जा क्षेत्रमा लगानी, पर्यटन तथा मझौला उद्योग व्यवसायमा लगानीको आग्रह गरिने अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा १२/१५ पक्षमा सहमति गर्ने गरी काम अगाडि बढाइएको बताएका छन् । त्यस्तै नेपाल र भारतबीच व्यापार, डुबान, उर्जा क्षेत्रको व्यापार तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माण, पारबहन, लगानी प्रवद्वन, सिँचाइ, बाढी तथा डुवान, पक्की पुल निर्माण, आन्तरिक कन्टेनर डिपो निर्माण, हवाइ प्रवेश मार्ग सम्पर्क सञ्जाल विस्तार, कृषि, एकीकृत जाँच चौकी स्थापना, आन्तरिक कन्टेनर डिपो निर्माणलगायतका विषयमा छलफल तथा हस्तक्षर हुने गरी नेपाली भ्रमण प्रतिनिधि टोलीले तयारी गरेर गएको छ ।

नेपालको हवाइ मार्गको सहजताका लागि भारतसँग छलफल र सम्झोता गर्ने, सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लाहरुलाई भारतसँग जोड्ने मोटरेवल र झोलुङ्गे पुल निर्माणको सम्झौता गर्ने, जलविद्युत व्यापारको विषयमा पुनरावलोकन तथा नयाँ व्यापारको विषयमा छलफल तथा सम्झौता गर्ने गरी नेपाली टोलीले तयारी गरेको हो । त्यस्तै महाकाल नदीको विषयमा पनि नदीको पानी समान र साझा उपयोग हुने गरी प्रयोग गर्ने विषयमा सम्झौता गर्ने तयारी नेपाली पक्षको रहेको छ । अन्य नदीनाला तथा विद्युत उत्पादन हुन सक्ने नदीहरुको विषयमा विद्युत उत्पादन गर्न भारतलाई दिने गरी नेपालको तयारी रहेको बुझिएको छ ।

सबैभन्दा पेचिलो विषय बनेकाे नेपाल भारत सीमा विवाद पनि पुनरावलोकन गर्ने तयारी नेपाली भ्रमण टोलीको रहेको छ । सीमाना विषयको विवाद अन्त्य गर्न विश्वासको वातावरण बनाइने तयारी नेपाली टोलीको रहेको छ । त्यस्तै प्रधानमन्त्रीले भारतमा हुने विजनेस समिटलाई सम्बोधन गर्ने जनाएका छन् । उक्त सम्बोधनमा अन्तरक्रिया पनि हुने जनाइएको छ । प्रधानमन्त्रीसहितको भ्रमण टोलीले भारतको मध्यप्रदेशमा रहेको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । इन्दोर सहरको फोहोर व्यवस्थापनबारे बुझ्ने तयारी रहेको छ । नेपाली भ्रमण टोलीले त्यहाँ रहेको आइटी पार्कको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भोलि बिहीबारबाट सुरु हुने भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिला भारतीय राष्ट्रपति दौपती मुर्मु, उपराष्ट्रपति जगदिप धनखरसँग शिष्टाचार भेटवार्ता गर्ने तयारी रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने छन् । भारतको भ्रमण गर्नु पूर्व प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारको भ्रमणका हैसितले नेपाल राष्ट्रको हितमा केही नयाँ चिज यो पटक बनोस् । भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन भन्ने चाहनका लागि म भारत जाँदैछु ।’

उनले विद्युत बजारको लागि पहिलाे प्राथमिकता राखेको जनाउ दिएका थिए । त्यस्तै ठूला लगानी भित्र्याउने वातावराण बनाउन पनि भूमिका खेल्ने उनले जनाएका छन् । अर्को भारत, नेपाल र बंगलादेशबीच विद्युत व्यापारमा त्रिपक्षिय सम्झौता हुने संकेत गरेका छन् । व्यापारका लागि बंगलादेशसँग सम्झोता हुनसक्ने प्रधानमन्त्री दाहालाको विश्वास देखिन्थ्यो । उनले २६ वर्षदेखि रोकिएको पञ्चेश्वरलाई पनि पुनरावलोकन गर्ने तयारी रहेको बताएका छन् । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा द्विपक्षिय वार्ता हुने तयारी छ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री प्रचण्डाको टोली आउँदो २० गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १५:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।