काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै भएको बताएका छन् । आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ ।
नयाँ दिल्लीमा पत्रकारसँगको कुराकानीको क्रममा उनले भने, ‘मैले पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भन्ने खोजेकै थिएँ । राष्ट्रपतिले सल्लाह गर्दैगर्दै जाँदा त्यही दिन पर्न आयो । म पहिला नै प्रमाणीकरण होस् भन्ने पक्षमा थिएँ ।’
भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखि चाहना भएको प्रधानमन्त्री प्रचण्डले प्रष्ट्याए । राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्रीको भारत भ्रमणकै दिन प्रमाणीकरण गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।
प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसलाई कतिपयले ‘भारतलाई खुसी बनाउन गरिएको काम’ गरेको प्रधानमन्त्ती प्रचण्डलाई आरोप लागेको छ । नागरिकता विधेयकमाथि भारतले पहिल्यैदेखि चासो राख्दै आइरहेको थियो । कतिपय कानूनविद्हरूले पनि विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमलाई गैरसंवैधानिक भनेका छन् ।




















प्रतिक्रिया