Logo

प्रमुख समाचार

अब व्यक्ति बदलिए मात्रै कांग्रेस बदलिन्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिए मात्रै कांग्रेस बदलिने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए ।

‘कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविष्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ’, उनले भने । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे ।

‘कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ’, महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो ।

उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्ता गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो ।

सोही अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा नेपाल प्रेस युनियन काठमाडौँ, भक्तपुर र ललितपुरका प्रदेश प्रतिनिधिका साथै प्रतिष्ठानका प्रदेश प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १५:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।