काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनलाई प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वमा चीन पुगेको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको भेटमा प्रधानमन्त्री दाहालको सन्देशसहित उक्त प्रस्ताव गरेका हुन् ।
सस्तो ब्याजमा नभई केही आयोजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्रीको सन्देश आफूहरुले चिनियाँ पक्षसँग राखेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपाध्यक्ष सापकोटाले जानकारी दिए । भ्रमण अगाडि प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र त्यही छलफलअनुसार चिनियाँ टोलीसँग कुराकानी भएको सापकोटाले बताए ।
“प्रधानमन्त्रीले जुलाई अन्तिम तथा अगष्टमा चीनको भ्रमण हुन्छ भन्नुहोला, बिआरआईअन्तर्गत सस्तो व्याजमा ऋण भनिएको छ, केही योजना अनुदानमा निर्माण गरिदिए आर्थिक विकासमा फड्को मार्न सजिलो हुन्छ भन्ने थियो”, उपाध्यक्ष सापकोटाले भने, “मैले प्रधानमन्त्री सन्देश जोड दिएर राखेँ ।”
उक्त सन्देशलाई चिनियाँ पक्षले सकारात्मक रुपमा लिएको र राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिङसम्म पुर्याउने विश्वास दिलाएको उपाध्यक्ष सापकोटाको भनाई थियो । अन्तर्राष्ट्रिय व्यापारिक नाका निर्वाध रुपमा सञ्चालन गर्ने विषयमा पनि आफूहरुले कुरा राखेको उनको भनाई छ । “अहिले केही नाका खुलेका छन्, तर तीनलाई व्यवस्थित र सुचारु गर्न बाँकी छ । तातोपानी, केरुङ, कोरला, यारीलगायत नाका सञ्चालन गर्न आग्रह गरेका छौँ”, उनले भने, “उहाँहरु सकारात्मक हुनुहुन्छ ।”
उपाध्यक्ष सापकोटाले काठमाडौँ–ल्हासा सिधा उडान गर्न आफूहरुले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए। “हामीले एक चीन नीतिका दृढताका साथ समर्थन गर्यौँ, असंलग्न परराष्ट्र नीतिमा पनि प्रतिबद्ध रहेको र त्यहीअनुसार पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्रप्रति हामी प्रतिबद्ध छौँ भनेर विश्वास दिलायौँ”, उनले भने ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको पुनःगठन भए आफूहरुलाई खुसी लाग्ने सन्देश दिएको उपाध्यक्ष सापकोटाले जानकारी दिए। “एउटा कम्युनिष्ट पार्टीले अर्को मित्र कम्युनिष्ट पार्टीलाई वाम एकता होस्, कम्युनिष्ट पार्टीका पुनःगठन होस् भन्ने सद्भाव राख्ने कुरा त भइहाल्यो”, उनले भने, “तर उहाँहरुले बारम्बार के भन्नुहुन्थ्यो भने निर्णय गर्ने तपाईँहरुले हो, त्यसो भए हामीलाई राम्रो लाग्छ, खुसी लाग्छ, भनेर भन्नुभएको छ ।”
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुखलगायत विभिन्न प्रान्तका पार्टी प्रमुख र सेक्रेटरीसँग छलफल भएको उनले जानकारी दिए ।




















प्रतिक्रिया