काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको ३५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित गरेको छ ।
कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज (जेठ २२ गते) सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.५ अरब पुर्याउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्तापुँजी रु.४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ मा ८ प्रतिशतको बोनस सेयर थप भई कुल चुक्तापुँजी रु.५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ पुगेको र तोकिएको चुक्तापुँजी सहज रुपमा पूरा भएको कम्पनीले जनाएको छ ।
आ.व.२०७८–७९ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु उत्साहप्रद रहेको छ । कम्पनीको कुल बीमाशुल्क १५ प्रतिशतले वृद्धि भई रु.१४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई रु. ५०८०.४२ करोड पुगेको छ । कुल लगानी १९.८५ प्रतिशतले वृद्धि भई रु.४७०३.९२ करोड पुगेको छ ।
कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको सभामा जानकारी दिइयो । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७८–०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।
नियामक निकायवाट जारी भएको लगानी निर्देशिकाअनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रियामा छ । विशेषगरी घर–जग्गा ब्यवसाय र जलविद्युत्मा लगानी बढाउनतर्फ कम्पनीले प्रयास गर्ने जनाइएको छ ।
यस्तै एउटा सहायक लगानी कम्पनी स्थापना गर्नेतर्फ पनि आ.व.२०७९–८० मा प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीको नेपालगंज स्थत आफ्नो स्वामित्वमा रहेको जग्गामा आ.व.२०८०–८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ । यसबाट सो क्षेत्रमा कम्पनीको ब्यवसाय प्रवर्द्धन गर्न सहज हुनेछ । कम्पनीको अन्य शाखाहरुमा पनि क्रमशः यो प्रक्रियाा सुरु गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसैगरी कम्पनीको आ.व.२०७८–७९ को बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन नुसार पर्याप्त फ्युचर बोनस प्रोभिजननिङ गरेर बीमितहरुलाई दिई आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको कम्पनीको दाबी छ ।
कम्पनीले ब्यावसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशनअनुसार खुद नाफाको १ प्रतिशतले रु. ७३ लाख ९२ हजार ८९१ बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।
सभामा अध्यक्ष सिंहले आउने दिनहरुमा नेशनल लाइफ इन्स्योरेन्स एक मुख्य बीमकका रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।




















प्रतिक्रिया