काठमाडौं । बहालवाला अर्थमन्त्री प्रकाशशरण महतमाथि पनि बजेट बनाउने समयमा करको दर हेरफेर गरेको संगीन आरोप लागेको छ । महतले गरेको करको दर हेरफेरका विषयमा एक सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि संसदमा समेत यो विषय उठेको छ । नेकपा एमालेका सांसद ठाकुर गैरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
सांसद शाहीले भन्सार विभागका पूर्व नायव सुब्बा (नासु)लाई बजेट बनाउने गोप्य कोठामा लगेर करका दर हेरफर गरेको विषय गम्भीर भएको भन्दै उक्त विषय साँचो भएमा अर्थमन्त्रीमाथि नै कारवाही हुनुपर्ने बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शाहीले गोप्य कोठामा लगेर करका दर हेरफर गरेको विषयमा छानबिन हुनुपर्ने माग गरे ।
सांसद गैरैले केही निश्चित व्यवसायीको हितमा अर्थमन्त्री महतले करका दर लिकेज गरेको भन्दै दुःख व्यक्त गरे ।गैरैले निश्चित घरानाका मान्छेहरुलाई करमा छुट दिनेगरी बजेटमा लिकेज हुँदा सरकार प्रति विश्वास गर्ने ठाउँ नरहेको बताए । समाचारमा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको दाबी गरिएको छ । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफर गरिएको आरोप लागेको छ ।
गत वर्ष बजेट बनाउने क्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्माले सिमित व्यापारीहरुको स्वार्थ पूर्ती गर्न पूर्व नासुलाई बजेट बनाउने कोठामा प्रवेश गराएको घटनाको देशव्यापी आलोचना भएको थियो । वर्तमान सरकारका अर्थमन्त्री प्रकाशशरण महतले भने सार्वजनिक फोरमहरुमा बजेटमाथि कुनै चलखेल नहुने प्रतिवद्धता जाहेर गरेका थिए ।




















प्रतिक्रिया