Logo

एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने , स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो



कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो ।

कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ ।

प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलका संयोजक डा. फुयालले त्यसरी फर्किनेमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्था हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर कार्ययोजना अघि सारेको जानकारी दिए ।

उनले भने, “विदेशबाट आएका सबैले रोजगारी नै चाहेका हुन्छन् भन्ने हुँदैन । विदेशबाट पैसा लिएर फर्किने, सीप र थोरै पैसा लिएर फर्किने र पैसा सबै गुमाएर फर्किने तीन किसिमका जनशक्ति भएकाले त्यसलाई अध्ययन गरेर सबै गुमाएर फर्किनेलाई प्राथमिकता दिएर उसको क्षमताका आधारमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हो । ”

विप्रेषण १५ प्रतिशतले घट्यो

अध्ययन प्रतिवेदनमा कोभिड–१९ का कारण नेपाल भित्रिने विप्रेषणमा ठूलो नोक्सानी नभएको उल्लेख छ । गत चैतदेखि जेठसम्म स्वदेश तथा विदेशमा गरिएको बन्दाबन्दीमा नेपाल भित्रिने विप्रेषणमध्ये औसतमा १५ प्रतिशत मात्रै घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी भित्रिएको ठूलो परिणामको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ८ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।