काठमाडौं । नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण झापा र इलामका उद्योगहरू बन्द गरिएका थिए।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमा सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि पहल थालेपछि बन्दका कार्यक्रम स्थगन गर्दै उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ।
विज्ञप्तिअनुसार चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान, किसानले भोग्दै आएका कठिनाइको पहिचान तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ। संघले उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
‘चिया क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि सरकारले देखाएको पहललाई सम्मान गर्दै उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए।
सरकारले असार ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरी समस्या अध्ययन तथा समाधानका उपाय सुझाउने जिम्मेवारी दिएको थियो।
संघले सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।




















प्रतिक्रिया