काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेका दाबी गरेका छन् । उनले भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरू केहीले भने जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाए ।
नुवाकोटको लाकुरीभन्ज्याङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे ।
‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ । तमाम उद्योगी/व्यवसायी खुसी छन् । राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन । उनीहरुले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने ? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरुलाई लागेको थियो । त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला ।’
भारत भ्रमणलगत्तै संसद्मा प्रतितिनिधिसभाका प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहालको आलोचनादेखि संसद् अवरोधसम्म गरेका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको अभिव्यक्ति त्यसप्रति लक्षित थियो ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कठोर ढंगले दृढ कदम चाल्ने संकल्पका साथ आफ्नो सरकार अगाडि बढेको पनि बताएका थिए । उनले अहिले सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ आधार र जनतामा नयाँ विश्वास जागेको पनि बताए ।




















प्रतिक्रिया