काठमाडौं । आलु प्याज विक्रेताहरुले नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक विक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम कदम चालेको आरोप लगाएका हुन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषि उपज आलु प्याज आयात निर्यात थोक विक्रेता संघले आलुप्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाईका दरले महंगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोस्साहित र उपभोक्ता चिन्तित रहेको बताए । बजेट र आर्थिक विधेयक २०८० ले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए । अर्थमन्त्री महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने, “यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने,उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।” अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर उपभोक्ता, यसका कारोबारमा संलग्न व्यवसायी र अन्तमा हरेक नेपाली भान्सासम्मै पर्ने निश्चित छ ।
सरकारको नीतिपछि व्यवसाय बचाउन आफूहरु हारगुहार गरिरहेको भन्दै उनले भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न पनि नसकेको बताए ।आलु र प्याज जस्तो नाशवान वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । कर लगाउँदा व्यवसायमा के असर पर्दछ भनी अध्ययन नगरी हचुवाको निर्णय लिँदा वषौंदेखि व्यवसाय गरिरहेकाहरु व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बानियाँको तर्क छ । अध्यक्ष बानियाँ भ्याटको निर्णयबाट पछाडि फर्कन पनि अर्थमन्त्रीलाई आग्रह पनि गरे ।
कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा सरकारले अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए । नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनले बताए ।




















प्रतिक्रिया