Logo

राजनीति

फेरि नयाँ नेकपा बनाउने कोसिस गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड



दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।

“समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।”

समाजवादी संयुक्त मोर्चाको वैचारिक दस्तावेजलाई अन्तिम रुप दिइएको जानकारी दिँदै उनले केही दिनमा मोर्चाको घोषणा हुने बताए । “हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन”, अध्यक्ष प्रचण्डले भने, “फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्तावेज टुङ्ग्याएका छौँ ।”

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर समाजवादी मोर्चा बनाइने उनको भनाइ छ । “केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधर छन्, उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ”, उनले भने ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १४:१४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।