Logo

अर्थ

कोशी प्रदेश : अल्पमतको सरकारले अध्यादेशमार्फत ल्यायो जेठ मसान्तमै बजेट



विराटनगर । कोशी प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट जारी गरेको छ । सत्ता साझेदार माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका छन् ।

उक्त दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रालयमा दिउँसो साढे तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अल्पमतको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आजै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन् ।

प्रदेशसभामा आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रस्तुत गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १४:३६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।