Logo

राजनीति

चाहेर पनि किन एक हुन सकेका छैनन् नेपालका कम्युनिष्टहरू ?



काठमाडौं । नेपालका प्रमुख कम्युनिष्ट शक्तिहरू एमाले र माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विभाजित भई पूरानै स्थितिमा फर्किएका २७ महिना पुग्यो । २०७५ जेठ ३ मा यी दुई ठूला वाम घटकबीच एकीकरण भई बनेको नेकपाको आयु सर्वोच्च अदालतले २९ महिनामै समाप्त पारिदिएको थियो । एकीकृत समाजवादी पार्टी पनि त्यही नेकपाको अर्को अंश हो । यी तीनसहित नेपालमा दर्जनभन्दा बढी कम्युनिष्ट विचाधारा बोक्ने पार्टी छन् । यीमध्ये पनि झन्डै आधा जर्दन कम्युनिष्ट पार्टीको प्रतिनिधित्व संसद्‍मा छ ।

आजका यी दर्जन कम्युनिष्ट पार्टीहरू अरु कोही नभएर हिजोका तीनै ठूला भनिएका पार्टीबाट विभक्त भएर बनेका हुन् । फरक मत राख्दै पार्टी फुटाउने, अर्को पार्टीमा जाने, नयाँ पार्टी खोल्ने गरेता पनि कम्युनिष्ट नेताहरूमा एकताको अभाव भने कुनै न कुनै रुपमा खड्केकै देखिन्छ । उनीहरूमा विभिन्न माध्यममार्फत धारणा व्यक्त गर्ने क्रममा ‘कम्युनिष्ट एकता’को चाहना झल्केको देखिन्छ ।

एकताका लागि दृढताका साथ ठोस कदम नचाले पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट फुटेर गएकाहरूलाई आउन पटक–पटक आग्रह भने गरिरहेकै हुन्छन् । बुधबार (जेठ ३१ गते) मात्र पनि उनले फेरि नयाँ नेकपासम्म पुग्न छलफल भइरहेको बताए । ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौं’, माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।’

नेताहरूको आ–आफ्नो स्वार्थका कारण नेपालका कम्युनिष्टहरू एक हुन नसकेका र एक भए पनि स्वार्थकै कारण विभाजित भइहाल्ने गरेका उपमहासचिव गुरुङको निष्कर्ष छ ।

प्रचण्डले समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए । एमालेमा पनि एकताका पक्षधरहरू रहेको तर नेतृत्व बाधक रहेको प्रचण्डको बुझाइ छ ।

एमालेमा कम्युनिष्ट एकताका बलिया पक्षरमध्येका एक उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुन् । तत्कालीन नेकपा विभाजनपछि पनि उनले शीर्ष नेताहरुलाई मिलाउन अनेकन् प्रयासहरु नगरेका हाेइनन्, तर अहिलेसम्म साकार हुन भने सकेको छैन ।

नेताहरूको आ–आफ्नो स्वार्थका कारण नेपालका कम्युनिष्टहरू एक हुन नसकेका र एक भए पनि स्वार्थकै कारण विभाजित भइहाल्ने गरेका उपमहासचिव गुरुङको निष्कर्ष छ । यति मात्र नभई विदेशीसामु घुँडा टेक्ने एकथरी, अहंकारी एकथरी र अर्कोथरी सानो चित्तको हुँदा कम्युनिष्टहरू विभाजनकै स्थितिमा रहनु परेकाे उनको ठम्याइ छ । ‘विदेशीका अगाडि घुँडा टेक्ने र विदेशीका तालु चाट्ने छन् एकथरी, एकथरी अहंकारी छन् भने अर्काथरी चाहिँ सानो चित्तको छन्’, उपमहासचिव गुरुङले भने, ‘कसैमा पनि राजनीतिक संस्कार छैन । सबैको आ–आफ्नै स्वार्थ छ । यस्तो अवस्थामा के हुन्छ र । स्वार्थैस्वार्थले बिग्र्‍या त हो नि !’

नेपालका कम्युनिष्ट शक्तिहरूमध्ये सबैभन्दा धेरै टुक्रामा विभाजित भएको पार्टी माओवादी हो । वि.सं. २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी विभाजन हुँदै गएपछि अहिले संसद्को तेस्रो शक्तिमा सीमित हुन पुगेको छ । विभाजनले कसैलाई फाइदा पुर्‍याउँदैन भन्ने बोध शीर्षदेखि तल्ला तहका नेताहरुमा भएको पाइन्छ ।

माओवादी उपमहासचिव पम्फा भुसाल नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी हुनुपर्नेमा जाेड दिन्छिन् । तर कम्युनिष्ट पार्टीहरुबीचको विचारमा असमान्ता र कतिपय नेतृत्वका अहम्ता कम्युनिष्ट ध्रुवीकरणको बाधक बनेका उनको ठम्याइ छ । ‘मुख्य कुरा विचारधारामा असमान्ता नै हो । त्यसपछि कतिपय नेतृत्वमा रहेको व्यक्तिवाद अहम्ता आदीइत्यादीका कारण पनि हो’, उपमहासचिव भुसालले भनिन्, ‘पहिला विचारमा एकरुपता, त्यसपछि बल्ल सांगठनिक एकता हुने हो । वस्तुतः नेपालमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्छ ।’

एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीको पनि कम्युनिष्ट धारका शक्ति एकतावद्ध हुनुपर्छ भन्नेमा विमति छैन । केही दिनअघि मात्रै पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा ब्यूँताउन आफूहरु तयार रहेको बताएका थिए । उनले ‘एमाले तयार हो ?’ केपी शर्मा ओलीतिर प्रश्नसमेत तेर्स्याएका थिए ।

‘कम्युनिष्टहरू फुटाउन कोही बाहिरको लाग्दैन । उनीहरू आफैभित्र यति धेरै ऊर्जा हुन्छ विभाजित हुन, बाहिरको आवश्यक्ता नै पर्दैन ।’

एकअर्काको अस्तित्व स्वीकार्न नसक्दा नेपालका कम्युनिष्टहरू विभाजित भइरहेका र एक हुन नसकेका एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाे ठम्याइ छ । कम्युनिष्टहरूलाई एक हुन नदिन देशभित्रकै गैरकम्युनिष्ट र कतिपय विदेशी शक्ति पनि लाग्ने गरेका उनी बताउँछन् । ‘कतिपय अवस्थामा एकअर्काको अस्तित्व स्वीकार गर्न सक्ने वा नसक्ने मनोविज्ञानले पनि काम गरिरहेको हुन्छ । जस्तो केपी शर्मा ओलीले अरु सबैलाई निषेध गरेर एक्लै अघि बढ्ने कोसिस गर्नुभयो, परिणामस्वरुप विद्रोह भयो’, नेता खतिवडाले भने, ‘अर्को कुरा नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध भइरहोस् भन्ने देशभित्रकै गैरकम्युनिष्टहरू र देश बाहिरका पनि कम्युनिष्ट विरोधीहरू कसैका चाहना छैन/हुँदैन, त्यो स्वभाविक पनि हो । किन कि यो विचारको लडाइँ हो कम्युनिष्ट हुनु र पुँजीवादी हुनु भनेको । यो विचारको लडाइँमा कम्युनिष्टहरू एक भइनरहुन् भनेर अरुले खेलिरहेका हुन्छन् । त्यो खेलको पात्र कम्युनिष्ट नेताहरु नै बनिरहेका हुन्छन् ।’

कम्युनिष्टहरू सरकारमा रहँदा फुट्छन् र बाहिर रहँदा एकताका कुरा गर्छन् भन्ने मनोविज्ञान रहेको बताउँदै नेता खतिवडाले नेताहरुमा हुने स्वार्थ पनि अर्को कारण रहेको बताए । उनले आर्थिक–सामाजिक आधार नै सामूहिकता तर्फ धकेलिन नदिने किसिमको रहेको पनि बताए । ‘हाम्रो आर्थिक सामाजिक आधारै यस्तै छ कि जहाँ हामीलाई सामूहिकतातर्फ धकेलिनै दिँदैन’, खतिवडाले भने, ‘जब निजी पुँजीको प्रधानता, पुँजीवादी आर्थिक प्रणालीको प्रधानता राखेर समाजवादी मनोविज्ञान र समाजवादी संस्कृति कसरी पाइन्छ ? प्रत्येक व्यक्ति नाफामा दौडिन्छ । जब निजी नाफामा हिँड्छ उसले सामूहिक नाफा हेर्दैन । यो पनि एउटा बेमेलका बाधक तत्व हो ।’

के भन्छन् विश्लेषक ?

वामपन्थी नेताहरुले ध्रुवीकरणका बाधकका रुपमा विभिन्न तत्वलाई देखाइरहँदा विश्लेषकहरु भने नेपालका कम्युनिष्ट पार्टीहरूको संरचना नै व्यक्तिवादी रहेको बताउँछन् । व्यक्तिवादी ढाँचामा रहेको पार्टीमा उच्च ओहदाका दुई ठूला व्यक्ति नअटाउने राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन् । ‘यिनीहरुको संरचना नै व्यक्तिवादी छ । त्यसकारण दुईटा व्यक्त एकै ठाउँमा अटाउँदैनन्’, उनले भने, ‘यसरी व्यक्तिवादी ढाँचामा भएको पार्टीमा दुई ठूला व्यक्तित्व हुनासाथ उनीहरुको बिचमा टकराव हुन्छ । पूरानाले नेतृत्व छोड्न चाहँदैन, तर अर्कोले नेतृत्व चाहन्छ ।’

माओवादी केन्द्रको उदाहरण दिँदै विश्लेषक खनालले भने, ‘३५ वर्षदेखि प्रचण्ड आफै नेतृत्वमा छन् । अर्को मान्छे अध्यक्ष बन्न चाह्यो भने त्यो मान्छेले पार्टीबाट निस्कनुपर्छ अथवा पार्टी बाँड्नुपर्ने हुन्छ ।’ व्यक्तिवादी मत्वाकांक्षाको कारणले दुईटा माथिल्लो ओहदाका व्यक्तित्वहरू हुँदा पार्टीभित्र टकराब हुने तर त्यसलाई व्यवस्थापन गर्न संरचनामा लोकतान्त्रिक पद्धति नभएको उनी बताउँछन् ।

आफैभित्रको ऊर्जा नै कम्युनिष्टहरू विभाजित गर्ने र एक हुन नदिने कारक तत्व भएको विश्लेषक खनाल बताउँछन् । ‘कम्युनिष्टहरू फुटाउन कोही बाहिरको लाग्दैन’, उनले भने, ‘उनीहरू आफैभित्र यति धेरै ऊर्जा हुन्छ विभाजित हुन, बाहिरको आवश्यक्ता नै पर्दैन ।’

पार्टी नै एक हुने सम्भावना नभएपछि माओवादी केन्द्रसहित एकीकृत समाजवादी र जसपालगायतले मोर्चा घोषणाको तयारी भने गरिरहेका छन् । मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायत साना पार्टीहरुलाई पनि सामेल गराउने प्रयास भइरहेको बताइएको छ । पछिल्लो समय माओवादी प्रवक्ता कृष्णबहादुर महराले विप्लवसँग सहकार्यदेखि पार्टी एकतासम्मको निरन्तर प्रयास गर्दै आएका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:५३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।