Logo

जनप्रतिनिधि

दुधौली मेयरको कार्यकक्षमा वडा अध्यक्षलाई प्रवेश निधेष !



सिन्धुली । दुधौली नगरपालिकाको मेयर कार्यकक्षमा दुईजना वडा अध्यक्षलाई प्रवेश निषेध गरिएको छ ।

मेयर दिनेश अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउन गएका कार्यपालिका सदस्य मध्ये वडा नम्बर ३ र ४ का वडा अध्यक्ष भद्राकुमारी माझी र रितबहादुर विश्वकर्मालाई मेयरको कार्यकक्षमा निषेध गरिएको हो । ४ बुँदे ध्यानाकर्षण बोकेर जाँदा आफूहरुलाई मेयरको कार्यकक्षमा प्रवेश निधेष भएको जानकारी नगर प्रहरीले दिएको वडाअध्यक्ष द्वय माझी र विश्वकर्माले अनलाइनपानालाई जानकारी दिए ।

तीन नम्बर वडा अध्यक्ष भद्राकुमारी माझीले भनिन्, ‘मेरा विभिन्न  माग राखेर मेयरको कार्यकक्षमा मैले ताला लगाएको थिए । पछि मेरा वडाका नागरिकले पनि मेरो वडामै ताला लगाए । पछि हामीले वार्ता गर्न समिति गठन गर्यौ तर वार्ता विफल भयो । त्यही भएर आज ध्यानाकर्षण बुझाउने कुरा भयो । हामीले ध्यानाकषर्ण पत्र बुझाउन जाँदा नगर प्रहरीले प्रवेश निषेध रहेको जानकारी गराए । यदि बलजफ्ती पस्नु भएमा बल प्रयोग गर्न बाध्य हुन्छौं भने । त्यसपछि हामीले उपमेयर ज्यूलाई ध्यानाकर्षण पत्र बुझायौं । मेयर ज्यू पनि कार्यकक्षमा रहनुभएको रहेनछ । बाहिर कार्यक्रममा जानु भएको छ रे ।’

माझिले आफ्नो माग पूरा नगरेको भन्दै गएको शुक्रबार मेयरको कार्यकक्षमा नै ताला लगाएकी थिइन । नगरपालिकाका उपमेयरले ताला लगाएको केही समयमै आफ्नै पहलमा ताला फोडेको जानकारी दिए । माझीले आफूले आक्रोशमा कुण्ठा पोख्दा ताला लगाएको बताइन । उता वडा नम्बर चारका अध्यक्ष विश्वकर्माले चाहिँ आफूलाई किन मेयरको कार्यकक्षमा प्रवेश नदिएको हो भन्ने नबुझेको बताए ।

उनले भने, ‘आज वडाको सिलिङको विषय, ३ नम्बर वडा अध्यक्षको विषयलगायको विषयमा कार्यपालिकाको बैठक राख्ने, कार्यपालिकाको काम अगाडि बढाउने र २०८०/०८१ सालको बजेट व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गर्न सबै कार्यपालिका सदस्य गएका थियौं। त्यही बेलामा मलाई चाहिँ नगर प्रहरीले बोलाएर तपाईँलाई चाहि मेयर ज्यूको कार्यकक्षमा प्रवेश गर्न निषेध गरिएको छ भन्नुभयो । तपाईँहरु जबर्जस्ती मेयरको कार्यकक्षमा प्रवेश गर्न खोज्नुभयो भने हातपात पनि हुनसक्छ । मैले जानकारी गराएँ भन्नुभयो । त्यसपछि तीन नम्बरको घटना चार नम्बरको वडा अध्यक्षलाई प्रवेश किन गरियो भन्ने नै थाहा भएन ।’

उपमेयर चन्द्रकिशोर थारुले भने, ‘नगरप्रहरीलाई तीन र चारको वडा अध्यक्षलाई प्रवेश निषेध गराउनु भन्ने आदेश रहेको कुरा घटना भइसकेपछि थाहा भयो । यो विषयमा मैले पनि बुझेको छैन ।’ उनले आफूलाई ध्यानाकषृण पत्र बुझाएर वडाअध्यक्षहरु जानु भएको बताए ।

मेयरलाई बुझाउन ल्याएको ध्यानाकर्षण पत्रमा भने विकास निर्माण तथा बजेटकै कुरा उल्लेख भएको छ । उपमेयरले दिएको जानकारी अनुसार ध्यानाकर्षण पत्रमा निम्न कुराहरु उल्लेख रहेको छ ।

१) आर्थिक वर्ष २०८०/०८१ को बजेट सिलिङ तथा मार्ग दर्शन चालु खर्चसहित रु ५० लाखलाई वृद्वि गरी रु एक करोड प्रत्येक वडामा सिलिङ वृद्वि गरियोस् ।

२) वडा नम्बर ३ का वडा अध्यक्षले राख्नुभएको जायज माग वार्ता र छलफलबाट अभिलम्ब सम्बोधन गरियोस् ।

३) संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रदत्त गरेका अधिकार बमोजिम कार्यपालिकालाई जिम्मेवार र अधिकार सम्पन्न बनाइयोस् ।

४) साझोदारी मार्फत ठूलो रकम खर्च गरिएको र कृषि तथा पशु विकासमा जनतास्तरमा उलेख्य उपलब्धि हाँसिल नभएको जनगुनासोलाई मध्यनजर गर्दै बहुबर्षिय साझोदारीमा पुनर्विचार गरी वडा तहबाटै कार्यक्रम कार्यान्वयनको सुनिश्चितता गरियोस् ।

मेयर अधिकारीले वडा नम्बर ४ का वडा अध्यक्षको कार्यालयमा नै मेयरको कार्यकक्षमा ताला लगाउने प्लानिङ भएको आफूले जनाकारी पाएको र कार्यालय हाताभित्र अनैतिक गतिविधि हुनसक्ने आशंकामा प्रवेश निधेष गरिएको जानकारी गराए । उनले भने, ‘माग लिएर आउने अनि तत्काल कार्यान्वयन गर भन्ने अनि मेयर भित्र हुँदा हुँदै ताला लगाइदिने भएपछि फेरि कार्यालयभित्र पसेर अनैतिक गतिबिधि भयो भने के गर्ने भनेर प्रवेश निधेष गरेको हुँ ।’ उनले आवश्यक काम भए उपमेयरको माध्यमबाट आउन भनेको बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १७:२५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।