Logo

प्रमुख समाचार

समाजवादी मोर्चा : विगत दोहोरिए आगत पनि अर्थहीन !



काठमाडौं । विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक यथास्थितिलाई तोड्दै बिलकुलै नयाँपनका साथ देशलाई अगाडि बढाउने प्रवद्धताका साथ चार राजनीतिक दलहरु मिलेर ‘समाजवादी मोर्चा नेपाल’को घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सत्तासीन दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजावदी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र सरकार बाहिरको दल नेकपाका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्ष गरे ।

सहमतिपत्रमा सस्ताक्षर गरिसकेपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्रीसमेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हातेमालो गर्दै उठेर ऐक्यवद्धता जनाए ।

त्यसपछि नेताहरुले पालैपालो कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चा गठनको उद्देश्यबारे प्रष्ट्याउने प्रयत्न गरे । मोर्चाभित्रका सबैभन्दा ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हजारौं जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्नेहरुकाविरुद्ध मोर्चाबन्दी कसेको बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेप्रति संकेत गर्दै उनले त्यस्ता तत्वविरुद्ध मोर्चा युद्धको घोषणा भएको चेतावनीसमेत दिए ।

‘हजारौं जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त परिवर्तनको उपलब्धिलाई उल्ट्याउन खोज्नेहरुका विरुद्ध समाजवादी मोर्चा युद्धको घोषणा हो । मोर्चा देशलाई फेरि अँध्यारोतिर लैजान खोज्नेहरूका विरुद्ध पक्कै पनि हो ।’

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूसँग मुकाबिला गर्न र नेपाली कांग्रेस तर्साएर सत्ताका लागि बार्गिनिङ गर्नका लागि मार्चाको चर्चा चलाइएको बताएका थिए । त्यसको जवाफमा प्रचण्डले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिविरुद्ध आफूहरु मोर्चाबन्दी भएको चेतावनी दिएका हुन् ।

केही वर्ष अघि हतारमा पार्टी एकता गरिएको भन्दै फलतः नेकपा बचाउन नसकिएको बताए । अहिले बडो सुझबुझपूर्ण ढंगले पहिला मोर्चा र पछि एकअर्कालाई झन् नजिकबाट चिन्दै बुझ्दै गएर पार्टी एकता पनि हुन सक्ने उनले बताए । ‘आज मोर्चा घाषणा गर्न सफल भएका छौं । हिजोको अनुभव पनि नयाँ शंलेषण भएको छ । अबको यसलाई रोक्न सकैले सक्दैन’, प्रचण्डले भने, ‘परिवर्नतका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर तथा उत्पीडित कसैका पक्षधरविरुद्ध समाजवादी मोर्चा लक्ष्यित छैन । बरु सबैलाई वामन्थी र प्रगतिशीलहरुलाई समेटेर नयाँ शिराबाट हिजोको तितामिठा कुराको समीक्षा गर्दै पाठ सिक्दै राष्ट्रियता, स्वाधिनता र समाजवादको दिशातिर देलाई लैजान गम्भीर जिम्मेवारी बोधका साथ यो समाजवादी मोर्चा बनेको छ । यो मोर्चा यो पहिलो पाइला हो । नयाँ अभियान र नयाँ युगतिर देशलाई लैजाने सबै सकारात्मक शक्तिलाई एकतावद्ध गरेर अगाडि जाने प्रक्रियाको सरुवात भएको छ ।’

प्रचण्डले विप्लव नेकपा पनि यसमा सामेल हुनुले यसको गुणात्मक क्रान्तिकारी महत्व राखेको बताए । ‘विप्लव जी नेतृत्वको नेकपा पनि यसमा सामेल हुनुले यसको गुणात्मक क्रान्तिकारी महत्व राखेको छ’, उनले भने, ‘यो क्षणिक र आवेगमा गरिएको निर्णय होइन । गल्ती कमजोरीबाट पाठ सिक्दै प्रतिगगनमका विरुद्ध नयाँ यात्रा सुरु गर्ने गरी यो सुरु भएको छ । प्रगतिशील पक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर कोही पनि हड्बडाउनु पर्ने छैन । बरु आउनुस् हातेमालो गरौं ।’

यो मोर्चालाई अब एउटा अभियानको रुपमा लैजाने भन्दै प्रचण्डले सरकार, सदन र सडकबाट प्रतिगमनकाविरुद्ध उभिएर राष्ट्र र जनताको पक्षमा आवाज बुलन्द पार्ने नयाँ अभियानको थालनी भएका बताए ।

मोर्चाका अर्का दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निक्कै कठिन परिस्थितिबाट गुज्रेर आफूहरु मोर्चा घोषणा गर्न सफल भएको बताए । ‘अहिले ४ वटा पार्टी आवद्ध भएका छौं ’, उनले भने कुनै काम गर्न सजिलो रहेनछ । हेर्दा सजिलै गरी सहमति गरेका होलान भन्ने छ तर त्यस्तो होइन । पापर बेल्नुपर्दो रहेछ’, उनले भने, ‘शब्दशब्दमा छलफल गरेर सहमतिपत्रलाई आजै अन्तिम रुप दिएका हौं ।’

सम्बोधनका क्रममा अध्यक्ष नेपालले पनि एमालेलाई जवाफ दिन भने छुटाएनन् । ‘यो मोर्चा कसैलाई तर्साउन र सकैको मुकाबिला गर्न भनेर बनेको होइन । हामीले सकारात्मक सोचका साथ समाजवादको निर्माणको वातावारण तयार गर्न, सुशासन र विकृति, विसंगतिलाई अन्त्य गर्न अगाडि बढेका हौं’, उनले भने, ‘यो पार्टीलाई निल्ने हो भन्ने परेछ कसैलाई । तर तीनै तिर्सिन्छन्, जो अग्रमणको पक्षमा छैन । हो हामी मुकाबिला त अवश्य गर्छौं । तर प्रतिगनमा कोही लाग्छ भने ।’ नेपालले अहिले मोर्चाबन्दी भएका नेताहरु बिचको सहकार्य पहिलो पटक नभएर दशकौंदेखिको हो भन्दै एकअर्कामा विश्वास रहेको बताए ।


एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा अहिले पनि राजनीतिक अन्योलता रहेको भन्दै त्यसलाई चिर्न मोर्चा बनाउनुपरेको बताए । ‘राजनीतिक रुपमा अहिले पनि देशमा अन्योलता छ । कहिलेम्मस कुन सरकार टिक्छ भनेर घोत्लिनुपर्ने अवस्था छ’, उनले भने, ‘हामीले जबसम्म यो देशका क्रान्तिकारी, आमुल परिवर्तनकारी र समाजवादीहरू एकतावद्ध भएर उभिँदैनौं तबसम्म देशमा परिवर्तन हुँदैन भनेर हामीले यो मार्चाको निर्माण गरेका हौं । यो पहिलो पाइला हो ।’

यसो भन्दै गर्दा मोर्चामा रहेका सारथीहरुलाई खनालले खबरदारी गर्न पनि छुटाएनन् । ‘यो मोर्चा सत्ता टिकाउने मात्र नबनोस् । सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस्’, उनले भने, ‘लक्ष्य भनेको समाजवादी गणतन्त्र हो । तीन करोड नेपालीको लक्ष्य यही हो । त्यहाँ नपुगेसम्म शोषण, दमन र अन्याय समाप्त हुँदैन ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रको हित र परिवर्तनको रक्षाका लागि साझा मुद्दाहरुमा सहमत भएर समाजवादी मोर्चा गठन भएको बताए । ‘चार राजनीतिक दलका आआफ्ना धारणा र सिद्धान्तहरु हुँदाहुँदै पनि आज आज राष्ट्रको हितका लागि, परिवर्तनका लागि साझा मुघद्दाहरुमा सहमत भएर समाजवादी मोर्चाको गठन भएको छ’, उनले भने, ‘विगतमा जनआन्दोलन, सशस्त्र यनयुद्ध, मधेश विद्रोह लगायतका विभिन्न आन्दोलनका परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक हुन पुग्यो । तर शासन प्रणाली बदलिएपनि शासन शैली र मानसिकता पूरानै छन् । प्रतिगमनकारी शक्ति र तीनका मतियारहरुका कारण यो अवस्था हुन पुगेकोले यसविरुद्ध लडेर जनसंघर्षको माध्यमबाट र संसदको मध्यमबाट यसलाई प्राप्त गर्ने कुरामा हामी सहमत भएका छौं ।’

देशलाई पछाडि धकेलने र यथास्थिति चाहने शक्ति पनि क्रियाशिल रहेका अवस्थामा परिर्वतलनई अगाडि बढाउने, संस्थागत गर्न मोर्चा निर्माण भएको यादवको तर्क थियो ।

गठबन्धन बन्दै भत्कँदै गरेको अवस्थामा मोर्चाबारे पनि धेरैलाई आशंका भएको हुनसक्ने भन्दै उनले त्यस शंकलाई व्यवाहरबाट लगत सावित गर्दै आफ्नो लक्ष्यतर्फ अगाडि बढ्ने उनले बताए । अध्यक्ष यादवले पनि चार दलीय मोर्चाबन्दीबाट कोही पनि तर्सिन आवश्यक नरहेको भन्दै बताए ।

मार्चामा सामेल एक मात्र सरकारबाहिरको दल नेकपाका महासचिव विप्लव मोर्चाको गठन नेपाली राजनीतिक इतिहासमा एउटा नयाँ प्रयोग र प्रयास रहेको बताए । ‘नेपाल एउटा असामान्य राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । विभिन्न किसिमका संकट नेपालको टाउकोमाथि घुमिरहेको छ । देश र जनतामाथि अत्याचार मच्चिरहेको छ । यो सामान्य अवस्था होइन’, उनले भने, ‘यी परिस्थितिमा हामीबीच लामो छलफल भयो । जनताको चाहना पनि यही हो । त्यसैअनुरुप आजको परिस्थिबाट देशलाई मुक्त गर्नुपर्छ । कुनै पनि हालतमा देशमाथि आँखा लागाउने साम्राज्यवादी दृष्टिलाई स्वीकार्न सकिँदैन भनेर नयाँ संघर्ष र लडाइँ गर्नुपर्छ भनेर अगाडि बढेका हौं ।’ यो मोर्चाले प्राप्त उपलब्धिहरुको रक्षा गर्ने र सबै खाले नागरिकको नेतृत्व गर्ने विप्लवले स्पष्ट पारे ।

लामो समययताको चर्चाकाबीच मोर्चा घोषणाको कामले सोमबार सार्थकता पाएको हो । मोर्चा बनेपनि विगत दोहोरिए यसको कुनै अर्थ नरहने राजनीतिक विश्लेषकहरु बताउँछन् । तर आगत पनि विगत जस्तै हुन्छ भनेर अहिले नै भनिहाल्नु अहिले हतार हुने राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी बताउँछन् । ‘यिनीहरुको विगत हेर्ने हो भने त यस (मोर्चा गठन)को केही पनि अर्थ छैन’, उनले भने, ‘तर अब आगत पनि विगत जस्तै हुन्छ भनेर अहिले नै भनिहाल्नु पनि अलि हजार हुन्छ ।’

अर्का विश्लेषक डा. लोकराज बराल पनि मार्चा बन्नुले तात्विक अर्थन नराख्ने बताउँछन् । ‘अब यस्तो मोर्चा कति बन्छन्, टुट्छन् । नेपाल कम्युनिष्ट पार्टीको इतिहास पढ्दा यो थाहा हुन्छ । २०/२० वटा पनि भएका छन ’, उनले भने, ‘एउटा सानो व्यक्तिगत कुरामा पनि तलमाथि हुने बितिक्कै फुटिहाल्छन् ।’

आलोपाले नेतृत्व गर्ने सहमतिमा बनेको मोर्चाको अध्यक्षसहितको एक संयोजन समिति हुने छ । त्यसले उपसमिति गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ । यसैगरी सदस्य दलहरुबाट तोकिएबमोजिमका सदस्य रहनेगरी एक सचिवालय पनि बन्ने छ । मोर्चालाई तल्लो तहसम्म पनि विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार २१:०४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।