Logo

अर्थ

एभरेष्ट बैंकको एटिएमबाट अब इसेवाको पैसा पनि झिक्न सकिने



काठमाडौं । इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एभ्रेष्ट बैंककाे एटिएममार्फत  झिक्न सक्ने भएका छन् ।  इसेवाले हाल याे बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो ।

इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाईलमा आउने OTP मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् । यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटिएम मार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ ।

सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उदेश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौँ । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा संञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिएपनि प्रयोगकर्तालाई सहज होस् भन्ने उदेश्यले हामीले यो सेवाको सुरूवात गरेका हौँ । हामी नेपाल सरकार र नेपाल राष्ट्रबैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ । जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिवद्ध छौँ ।’

यस्तै कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सिइओ विजय कुमार शर्माले भने, ‘एभरेष्ट बैंक जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । यसै क्रममा इसेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ । इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनैपनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका इसेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ।’

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १८:००   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।