Logo

प्रमुख समाचार

संयुक्त राष्ट्रसंघका उपमहासचिव नेपालमा, प्रहरी महानिरीक्षकसँग भेटघाट



काठमाडौं। संयुत्त राष्ट्रसंघका शान्ति स्थापनाका लागि काम गर्ने उपमहासचिव जिन पिर्रे लाक्रोइक्स चार दिने भ्रमणका लागि नेपालमा रहेका छन्।

मंगलबार नेपाल आइपुगेका उपमहासचिव लाक्रोइक्सलाई उपरथी योगराज शर्मा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। त्यसलगत्रै उपमहासचिव लाक्रोइम्कसले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई शिष्टाचार भेटघाट गरेका छन्।

भेटका क्रममा रक्षामन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

आज बुधबार उपमहासचिव जिन पिर्रे लाक्रोइक्स र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट भएको छ । उपमहासचिव जिन पिर्रे लाक्रोइक्सले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगकाे भेटमा संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरे।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताए ।

भेटका अवसरमा उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।