Logo

राजनीति

नेकपाकाे झडपमा घाइते भएका चौरसियाको मृत्यु, ३ जना पक्राउ



पर्साको विन्द्यवासिनी गाउँपालिकामा बिहीबार आयोजित नेकपाको नगर कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव विजय महतोको दुई समुहमा विभाजित नेकपाका कार्यकर्ताबीच शपथग्रहण कार्यक्रममै भएको झडपमा परी टाउकोमा गम्भीर चोट  लागेका नेकपा विन्दवासिनी गाउँपालिका नगर कमिटिका सचिव चौरसियाको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । टाउकोमा गम्भीर चोटपटक लागि नारायणी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका चौरसियालाई थप उपचारको लागि वीरगन्ज पानीटंकी स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

टाउकोमा गहिरो चोट लागेको हुनाले अत्याधिक रगत बगिसकेका कारण चौरसियाको मृत्यु भएको चिकित्सकहरूले बताएका छन् । झडपमा परेका ३ जनालाई गम्भिर चोटपटक लागेको थियो । तीमध्ये बाँकी दुईजनाको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य सामान्य घाइते भएका एक दर्जन कार्यकर्ताहरु सामान्य उपचारपछि घर फर्केका छन् ।

यता घटनामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले ८ जनालाई बिहीबार नै पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान गर्दा ३ जना संलग्न रहेको भेटिएकोले त्यही दिन ५ जनालाई छाडेर ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । पक्राउ पर्नेमा हनिष मियाँ, देवा सहनी, शोकदिन गद्दी रहेका छन् ।

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार