Logo

गण्डकी प्रदेश

जाम हटाउन मन्त्री नै उत्रिए फिल्डमा



पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा-बाग्लुङ खण्डमा सवारी आवागमन प्रभावित भएपछि समाधान खोज्न गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली आफै फिल्डमा निस्किएका छन् ।

जुग्लालीले अवलोकन पछि सवारी आवागमनको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्री जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णबहादुर केसी, मध्य पहाडी लोकमार्ग आयोजनाका प्रतिनिधि ठाकुर भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, वडा अध्यक्ष फडिन्द्रप्रसाद पौडेलसहितको टोलीले बिहिबार बिहान पहिरोको स्थलगत अध्ययन गरि वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार ठूला सवारी साधनले राजमार्ग नै प्रयोग गर्ने तथा साना सवारी साधनका लागि काँडे-मनाङचे-पत्थरचोक र पत्थरचोक-पाउदुरकोट सडक प्रयोगमा ल्याउन ल्याइनेछ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जिप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाउने मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकहरुले सुझाव दिएका थिए । गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गको रुपमा रहेको मध्य पहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घण्टौसम्म रोकिन पर्दा सैयौं सवारी साधन र हजारौ यात्रुहरुले दुःख पाउँदै आएका छन् ।

एकतर्फ रुपमा मात्र यातायात सञ्चालन गरिदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारी साधन फसेर सुत्केरी, बिरामी, जन्तीलाई विशेष सास्ती भएको थियो । म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, पुर्वी रुकुम र रोल्पाबाट पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जाने र आउने यात्रुहरु पहिरोले प्रभावित हुँदै आएका छन् ।

चार वर्षअगाडि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु. तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्यादसमेत यही असार ५ गते सकिँदा करिब ३० प्रतिशत भौतिक प्रगति छ ।

जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको वैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनको लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताए ।

आयोजनाका प्रतिनिधि भण्डारीले पहिरो क्षेत्रमा गाडी फस्न नदिन ग्राभेल हालिएको बताए ।

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ५ : ३९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।