Logo

कोशी प्रदेश

कोशी प्रदेशः नयाँ सरकार नबन्दासम्म मुख्यमन्त्रीको जिम्मेवारी कार्कीलाई



कोशी प्रदेश । प्रदेश सभामा एक मत कम भएर विश्वासको मत पाउन नसकेर सत्ताबाट बाहिरिएको नेकपा एमालेको अघिल्लो सरकारलाई नै नयाँ सरकार नबन्दासम्म सरकार सञ्चालन गर्न प्रदेश प्रमुखले जिम्मेवारी दिएका छन् ।

शुक्रबार प्रदेशका मुख्यमन्त्री रहेका हिक्मतबहादुर कार्कीले विश्वासको मतका लागि एक मत कम पाएसँगै सरकारबाट हट्नुपरेको थियो । त्यसो त एमालेले पुनः आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने माग पनि अघि सारेको छ ।

यसका लागि शुक्रबार नै प्रदेश प्रमुखको ध्यानाकर्षण गराउँदै एमालेले संविधान अनुसार अब पनि सरकारको नेतृत्व आफैंले पाउनुपर्ने जिकिर गरेको हो। शुक्रबार प्रदेश सभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएका मुख्यमन्त्री हिक्मत कार्कीको दल एमालेका नेताहरूले संसद् बैठक लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर सरकारमा फेरि दाबी गरेका हुन ।

मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो । तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन्।

नेपालको संविधान अनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार बनाउने व्यवस्था छ भने उपधारा २ मा दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने व्यवस्था छ । त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दलले सरकार बनाउने विषय उल्लेख छ।

एमालेले दुई वा दुईभन्दा बढी दलले सरकार बनाइसकेका कारण अब संविधानको अर्को धारा आकर्षित हुने दाबी गरिरहेको छ। उपधारा २ अनुसारको सरकार गठनका लागि गठबन्धनसँग संख्या नै नपुग्ने एमालेको दाबी छ।

एमाले नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू भने फेरि पनि उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूकै सहभागितामा सरकार बनाउने तयारीमा रहेका छन् ।

May be an image of text

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १८:०२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।