काठमाडौं । कोशीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको कोशी संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३ (सभामुखसहित), एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर सपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताएका छन् । विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहने भन्दै उनले राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा पनि सभामुखको निर्णायक मतले आफूले विश्वासको मत पाउने बताए ।
यता, एमालेका सांसदहरुले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गरेको भन्दै आपत्ति जनाएका छन् । एमालेका प्रदेश सांसद तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सरकार गठनका दाबी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग भएको भन्दै अब यो विषय सर्वोच्च अदालतबाटै टुंगिने बताए ।
एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।

- याे पनि…
कोशी प्रदेश प्रमुखलाई एमालेले भन्याे- ‘सरकार गठनका निम्ति सभामुख गन्नू संसदीय मूल्यविपरीत’




















प्रतिक्रिया