Logo

प्रमुख समाचार

पार्टी शिथिल भएकाे कांग्रेस जिल्ला सभापतिहरूको गुनासो



काठमाडाैं । काठमाडौंमा भेला भएका कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी र सरकारबीच समन्वयको अभाव रहेको गुनासो गरेका छन् ।

अनलाइन सदस्यता वितरणबारे जानकारी दिन सानेपा बोलाइएका जिल्ला सभापतिहरूले आ–आफ्नो समूहको चासोअनुसार गुनासो र आलोचना गरेका छन् । पार्टी गतिविधि शिथिल बन्दै गएको र त्यसबाट कांग्रेसमाथि चुनौती थपिएको जिल्ला सभापतिहरूको भनाइ छ ।

मोरङ सभापति तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले संघदेखि प्रदेशसम्मका सरकारका बजेटमाथि असन्तुष्टि जनाए । ‘गुट नमिलेका आधारमा अर्थमन्त्रीले बजेट नदिने अवस्था देखियो । संघ र प्रदेश सरकारहरूले ल्याएका बजेटले सबै क्षेत्र समेट्न सकेको छैन । संघदेखि प्रदेशसम्म उस्तै अवस्था छ,’ भेलामा लिम्बूले भने ।

संखुवासभा सभापति दीपक खड्काले सरकार र पार्टीबीच कहीँ पनि समन्वय नदेखिएको गुनासो गरे । ‘सरकार र पार्टीबीच समन्वयको अभाव छ । बजेट ठाउँविशेषमा केन्द्रित गरिएको छ,’ उनले भने, ‘कांग्रेस सरकारमा भए पनि नागरिकले अनुभूति गर्न पाएनन् । रूपान्तरणका कुरा सुनिएका छन् । पार्टी रूपान्तरण हो कि गुट रूपान्तरण हो ?’

गोरखा सभापति नन्दप्रसाद न्यौपानेले पार्टी सरकारमा रहेको अनुभूति नभएको गुनासो गरे । प्रदेशदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ, तर आफ्नै सरकार भएको अनुभूति छैन,’ उनले भने ।

अर्घाखाँची सभापति केशव श्रेष्ठले जनताका गुनासा सरकारसम्म पुर्‍याउनै नसकिएको पीडा राखे । ‘हाम्रै नेताहरू मन्त्री छन् । तर, मन्त्रीहरू नै समय दिँदैनन् । जनताका गुनासा सरकारसम्म पुर्‍याउनै नसकिने अवस्था आयो,’ उनले भने ।

दोलखा सभापति बर्मा लामाले जिल्लामा काम गर्न कठिन हुन थालेको सुनाए । ‘जितेर गएकाहरू सम्पर्कमा आउँदैनन्, काम गर्न गाह्रो भइसक्यो,’ उनले भने, ‘केन्द्रको गुटबन्दी असर जिल्लामा परेको छ । पार्टीमा आकर्षण घट्दो अवस्थामा छ ।’ बाजुरा जिल्ला सभापति रामसिंह रावलले बजेटले दुर्गम क्षेत्र नछोएको गुनासो गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ०८:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।