काठमाडौं । ओमनको मस्कटमा केही दिनअघि सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुलाई बञ्चित गरिएको भन्दै ओमनमा बस्ने नेपालीले असन्तुष्टि जनाएका छन्। गत २७ जुनदेखि मस्कटस्थित होलिडे इन होटलमा तीन दिनसम्म चलेको संघको आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन भएको थियो। उक्त सम्मेलनमा नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसमेत सहभागी थिए।
तर ओमनमा बस्ने नेपालीले भने श्रमिकका नाममा भएको सम्मेलन श्रमिकमैत्री नभएको भन्दै चित्त दुखाएका हुन्। शुक्रबार तामाङ समाज ओमनको अधिवेशनको उद्घाटन सत्रमा सहभागी प्रतिनिधि तथा अतिथिले सम्मेलनका विषयमा कुरा उठाएका हुन्।
सम्मेलनमा सहभागी हुन एनआरएनएले ५० डलर शुल्क तिर्नुपर्ने व्यवस्था राखेको थियो। तर, ओमनका नेपालीले भने आफूहरु चर्को शुल्क तिर्न नसक्ने भन्दै उतिबेलै सम्मेलन बहिष्कार गरेका थिए। सम्मेलनमा ओमनस्थित दलका भात्रृ संगठनका प्रतिनिधि तथा अरू नेपाली संघसंस्थाहरू समेत सहभागी भएका थिएनन्। आयोजकले सबैका लागि सुलभ सूचनासमेत जारी गरेको थिएन। बरू आयोजकले यो सम्मेलन श्रमिकहरूको नभइ मध्यपूर्वी राष्ट्रका एनसीसीहरूको भेला भएको भन्दै प्रश्न टार्न खोजेका थिए।
एनसीसी ओमनकै ६० प्रतिशतभन्दा बढी पदाधिकारी सम्मेलनमा उपस्थित थिएनन्। तामाङ समाजको कार्यक्रममा प्रवासी नेपाली मञ्च, ओमन नेपाली एकता समाज, जनसम्पर्क समिति ओमनलगायतका संघ–संस्थाले एनआरएनए धनिहरुको संस्था भएको आरोप लगाउँदै मस्कट सम्मेलन श्रमिकको हित अनुकुल हुनेगरी कुनै काम नगरेको आरोप लगाएका छन्।
मस्कटस्थित नेपाली दूतावाससँग पनि त्यहाँका नेपालीले गुनासो गरेका छन्। श्रममन्त्री शरतसिंह भण्डारी सम्मेलनमा आएर भाषण ठोकेर मात्र फर्किएको तर, श्रमिकसँग कुनै छलफल नगरेको गुनासो उनीहरुको छ। श्रमिकसँग छलफल गराउने वातावरण राजदूत डोरनाथ अर्यालले नमिलाएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए। दूतावास श्रमिकको हितभन्दा ठूला–बढाहरुको पक्षमा उभिएको उनीहरुको आरोप थियो।
ओमनमा एनआरएनए आधिकारिक रुपमा दर्ता छैन। एनआरएनएले नेपाली सोसल क्लबका नामबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। एनआरएनए ओमनका उपाध्यक्ष रविन शिल्पाकारले भने सम्मेलनमा सहभागी हुने प्रतिनिधिले ५० डलर तिर्नुपर्ने नियम भएकाले आफूहरुले पनि ओमनमा त्यो नियम लागू गरेको बताउँदै पन्छिएका थिए।
प्रतिक्रिया