Logo

प्रमुख समाचार

रास्वपामाथि एमालेको कटाक्ष– ‘सोसल मिडियाका सेलिब्रेटी भेला पारेर दल बन्न सक्दैन’



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कटाक्ष गरेका छन् । उनले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने टिपप्णी गरे ।

पार्टी सभापति रवि लामिछानेमाथि लक्षित गर्दै महासविच पोखरेलले कुनै एक क्षेत्रमा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको टिप्पणी गरे । ‘सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन’, पार्टीको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘सोसल मिडियामा लोकप्रियता हासिल गर्नेवित्तिकै समाजको नेतृत्वको रुपमा हामी योग्य छौं भन्ने मान्यता टिकाउ मान्यता होइन ।’

महासचिव पोखरेलले कुनै समय भारतीय अभिनेता अमिताभ बच्चन पनि राजनीतिमा आएको र प्रतिष्ठित राजनीतिज्ञ कमलापति त्रिपाठीलाई हराएको भन्दै एक कार्यकालमै बच्चनले यथार्थ बुझेर राजनीति छाडेको टिप्पणी गरे । कुनै व्यक्ति कुनै क्षेत्रमा लोकप्रिय भयो भने सबै क्षेत्रमा लोकप्रिय हुन्छ भन्ने कुरा सत्य नभएको भन्दै हरेकले आफ्नो कामको क्षेत्रभित्र विज्ञता हासिल गर्ने कोशिस गर्नुपर्ने बताए ।

सही राजनीति र बलियो राजनीतिक नेतृत्व भएमा मात्र देश बन्ने भन्दै महासचिव पोखरेलले नेपालमा विभिन्न प्रयोगको नाममा समय खेर फाल्ने काम भइरहेको औल्याए । ‘एउटा समयमा नेपाललाई विवेकशील साझाका नाममा प्रयोगशाला बनाइयो । जनताले केही समय नजिकबाट यिनीहरुले पो गर्छन् कि भनेर हेरे त्यसपछाडि होइन रहेछ भन्ने परेपछि फेरि अर्को प्रयोगशालाका रुपमा स्वतन्त्रलाई अगाडि सारियो’ उनले भने, ‘स्वतन्त्रहरुको असंगठित शक्तिले कसरी राजनीतिक नेतृत्व गर्न सक्छ भन्ने प्रश्न खडा भएपछि स्वतन्त्रका नाममा पार्टी बनाइयो । जुन पार्टीको न सिद्धान्त छ, न उद्देश्य छ न लक्ष्य छ न गन्तव्य छ ।’

प्रकाशित मिति : असार २३, २०८० शनिबार  ४ : १२ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।