काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत यती एयरलाइन्सको उडान नम्बर ७९३ बाट विराटनगर जान विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिएर उनी जहाजको प्रतीक्षामा थिए।
साढे ४ बजेको नियमित उडानमा विराटनगर जाने तयारीमा रहेका राउतको जहाज झण्डै ४० मिनेट ढिलो गरी उड्ने तयारीमा थियो। उनलाई दिउँसैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले निगरानीमा राखेको थियो।
सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सचिव राउत आफ्नो घर उदयपुर जान भनेर मन्त्रालयबाट बिदा भएका थिए ।
‘बुबा बिरामी भएकाले घर जान्छु, जनकपुर वा विराटनगर हुँदै उदयपुर जाने भनेर हामीलाई भन्नुभएको थियो,’ सुवेदीले भने ।
घर जानका लागि राउतले सञ्चारमन्त्री रेखा शर्मालाई समेत जानकारी गराएका थिए ।
यती एयरलाइन्सका कर्मचारीले बोर्डिङ चेक गरेर राउतलाई विमान चढ्न पठाइरहेका थिए। सोही बेला केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सचिव राउतलाई ५:१० मा नियन्त्रणमा लियो। केहीबेर विमान पर्खिरहेका अन्य यात्रुहरूबीच कानेखुसी चलेको स्रोतले बताएको छ।
ललिता निवास प्रकरणमा सीआइबीले सञ्चार सचिव राउतलाई आइतबार बेलुकी नियन्त्रणमा लिइएको थियो।
सचिव राउत माधव नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत थिए ।




















प्रतिक्रिया