काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक महिला न्यायको भिख माग्न बसेकी तीन हप्ता हुन लाग्यो । १८ दिनयता मुखमा पानी पनि नहाली बसेकी उनको आन्दोलनमा प्रतिवद्धता जनाउन अहिलेसम्म न महिला तथा मानवअधिकारकर्मी पुगेका छन्, न त कुनै नेता, सांसद् नै ।
उनी न्यायाधीश भुवन गिरीका पत्नी आरती रावल गिरी हुन् । आरतीले आफ्नै श्रीमान् भुवनबाट पीडित भएका भन्दै न्यायका लागि संघर्ष सुरु गरेकी भने ७ महिना भयो । भुनवले आफूमाथि जबरजस्ती करणी गरेको र बन्धक बनाएर कुटपिट गरेकाे आरोप आरतीको छ ।
२०७८ फागुन १८ मा जिल्ला न्यायाधीशको परीक्षामा उत्तीर्ण भएका भुवन न्यायाधीश तालिम सकेर २०७९ असारमा कपिलवस्तु जिल्ला अदालतमा पदस्थापन भएका थिए । जिल्ला न्यायाधीशका रुपमा कार्यरत रहेकै अवस्थामा आरतीले मंसिर २ मा भुवनविरुद्ध कविलवस्तुमै उजुरी हालिन् । सुरुमा प्रहरीले उजुरी लिन मानेन । बरु भुवनसहित प्रहरी प्रशासनलेसमेत आरतीमाथि मेलमिलापको दबाब दिएकाे थियाे ।
‘मंसिर २ गते उजुरी दिएकी हुँ । तर लिएनन् । ३ गते म्यारिटल रेपको मेडिकल भयो । अनि ५ गते जाहेरी दिँदा पनि प्रहरीले लिएन । भोलिपल्ट भुवनले बोलाएर प्रहरीसँग मेलमिलापको दबाब दिए । मैले नमानेपछि उनीहरुले अनेक धम्की दिए । अनि मुचुल्का उठाएर म ७ गते काठमाडौं भागेर आएकी हुँ’, आरतीले सुनाइन् ।
‘यस्तो गम्भीर विषयमा पटके मुद्दा लागेको व्यक्तिलाई पनि खुलमखुला छोडिन्छ भने अरु अपराधी, बलात्कारीलाई किन जेलमा कोचिरहने ? सबैलाई छाडिदिए भैगो नि !’
सुरुमा जाहेरी लिन प्रहरीले नमानेपनि पछि धर पाएन । न्यायाधीशमाथि नै बलात्कार जस्तो संगीन आरोपमा जाहेरी परिसकेपछि गिरीलाई न्यायपरिषद्मा तानियो । जाहेरीको अनुसन्धान अघि बढाउने क्रममा जिल्ला अदालत कपिलवस्तुले चैत २० मा न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी नै जारी गर्यो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन सम्पर्कविहीन रहे । त्यसपछि गिरीको खोजबिनमा कपिलवस्तु प्रहरीले काठमाडौं प्रहरीको सहयोग मागेको थियो । कपिलवस्तु प्रहरीको आग्रहपछि काठमाडौं प्रहरीले न्यायाधीश गिरीलाई चैत २८ गते सामाखुसीबाट पक्राउ गर्न सफल भयाे ।
न्यायाधीश गिरी कपिलवस्तु जिल्ला अदालतको मुद्दा फिर्ता गराउने उद्देश्यले चैत २७ गते ‘मेलमिलापको गरौं’ भन्दै सामाखुसीस्थित आरतीको डेरामै पुगेका बेला प्रहरीको पञ्जामा परेका थिए । ‘मेलमिलाप गरेर कपिलवस्तुको मुद्दा फिर्ता गराउने उद्देश्यले आको थियो । त्यसपछि २८ गते त्यहीँबाट पक्राउ परेको हो’, आरतीले भनिन् ।
काठमाडौं प्रहरीले न्यायाधीश गिरीलाई चैत २८ गते पक्राउ गरेर सोही दिन कपिलवस्तु प्रहरीको जिम्मा लगाएको थियो । वैवाहिक करणी, घरेलु हिंसा, ज्यान मार्ने उद्योगलगायत कसुरको मुद्दामा कपिलवस्तु जिल्ला अदालत मुद्दा चलाइएकोमा उनी त्यहाँबाट वैशाख १७ गते २ लाख ७५ हजार धरौटीमा छुटे । आरतीले बन्धक र करणी कसुरमा काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा हालेकी थिइन् । एउटा अदालतबाट उम्केपनि अर्को अदालते पीडकलाई सजाय दिन्छ भन्ने आरतीलाई आशा थियो । तर काठमाडौं जिल्ला अदालतले पनि वैशाख १९ गते ५० हजार धरौटीमा न्यायाधीश गिरीलाई छाड्न आदेश दियो ।
‘यस्तो गम्भीर विषयमा पटके मुद्दा लागेको व्यक्तिलाई पनि खुलमखुला छोडिन्छ भने अरु अपराधी, बलात्कारीलाई किन जेलमा कोचिरहने ? सबैलाई छाडिदिए भैगो नि ! गम्भीर अभियोग लागेको व्यक्ति भएर पनि सरकारी सेवासुविधा लिइरहेको छ’, आरतीको आरोप छ, ‘एउटा बलात्कारीलाई सरकारले नै संरक्षण गरिरहेको छ । यसविरुद्ध म लडिरहेकी हुँ ।’
हिजो हस्पिटलमा पाँच बोतल स्लाइन चढाएपछि आज बल्ल अलि बोल्न सक्ने भएकी हुँ । मुखमा पानी नहालेको २० दिन हुन लाग्यो । नढलुँ पनि कसरी !’
दुईवटै जिल्ला अदालतको आदेशबाट न्यायको अनुभूति नगरेकी आरती अहिले उच्च अदालतमा पुगेकी छन् । जिल्ला अदालतका आदेशविरुद्ध उच्च पुगेकी उनको मुद्दामा आज (बिहीबार) पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्यो । षड्यन्त्रपूर्वक आफ्नो मुद्दा अन्तिम नम्बर तिर पेशी राखेर हेर्न नभ्याइमा पारिएको आरतीको आरोप छ । ‘आज पेशीमा चढेको थियो । अन्तिम १४ नम्बरमा चढेको थियो’, उनले भनिन्, ‘तर आज सुनुवाइ भएन । हेर्न नभ्याइने भनियो । सबै सेटिङ भइरहेको छ यहाँ । तलदेखि माथिसम्मै षड्यन्त्र गरेर पीडकलाई जोगाउन खोजिएको छ ।’
कपिलवस्तुदेखि काठमाडौंसम्ममा न्यायका लागि आरतीले अनेक लडाइँ लडेकी छन् । त्यसक्रममा प्रहरीले उल्टै उनलाई पटक–पटक पक्राउ गर्दै छाड्दै गर्याे । अन्य बाटोबाट न्याय पाउने आशा कम हुँदै गएपछि माइतीघरमा अहिले आरती आमरण अनशन बसेकी हुन् । अनशन बस्न उनलाई झरी–बादलले पनि छेकाे छैन । न त अँध्याराे रातले नै ।
‘असार १० गतेदेखि सुरु गरको अनशन थालेकी हुँ । दिनरात यतै छु’, उनले भनिन्, ‘मलाई साथ दिने एक जना दिदी हुनुहुन्छ । उहाँ चाहिँ लागिपर्नुभाकै छ मेरो लागि ।’ अनशनरत आरतीले अहिलेसम्म आफूलाई अरु कसैले साथ नदिएको गुनासो पनि गरिन् । ‘यत्रो पीडामा हुँदा कसैले हेरेका छैनन्’, उनले भनिन्, ‘बेकार के का लागि यी अनेक संघसंस्था र निकायहरू ?’
अनशनमै रहेका बेला आइतबार आरती बोल्नै नसक्ने अवस्थामा पगिन् । त्यसपछि उनका सहयोगी दिदीले वीर अस्पताल पर्याइन् । ‘हिजो हस्पिटलमा पाँच बोतल स्लाइन चढाएपछि आज बल्ल अलि बोल्न सक्ने भएकी हुँ’, उनले भनिन्, ‘मुखमा पानी नहालेको २० दिन हुन लाग्यो । नढलुँ पनि कसरी !’
भिडियाे:–




















प्रतिक्रिया