Logo

प्रमुख समाचार

त्रिविका रेक्टर भन्छन्ः स्नातक तहलाई तीन वर्षे बनाउने कुनै तयारी छैन



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पढाइलाई तीन वर्षे बनाउने कुनै तयारी नभएको जनाएको छ ।

त्रिविले सबैभन्दा पहिला २०७१/७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो। मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन। चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस सङ्कायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन्।

विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न सङ्कायका डिनले दिएकाे समाचार प्रकाशित भएका थिए।

त्रिविका रेक्टर शिवलाल भूसालले अनलाइन पानासँग कुरा गर्दै भने, ‘एकपटक छलफलमा कुरा आएको थियो । यसरी हल्का तरिकाले कहिले तीन वर्ष कहिले चार वर्ष भनेर चलाउन मिल्दैन । अलि वर्क आउट गर्नुपर्छ ।’

रेक्टर भूसालले एक ठाउँबाट यस्तो विषय उठेको भन्ने चाहिँ खुलाए । तर कहाँबाट त्यस्तो विषय छलफलमा उठ्यो भन्ने विषय खुलाएनन् । ‘अहिले बहसमा यो विषय आएको छैन । सामान्य एक ठाउँबाट प्रस्ताव आएको थियो । यो त्रिविले गरेर मात्रै हुँदैन । अन्य विश्वविद्यालयहरुले स्नातक तह चार वर्षे बनाइसकेका छन् । चार वर्षे भनेर एक ब्याचका विद्यार्थीको पढाई पूरा भइसकेको छैन । फेरि तीन वर्ष भनेर ती विद्यार्थीलाई के भन्ने ?’, रेक्टर भूसालले भने, ‘यो विषयमा एउटा नेशनल बहस नै हुनुपर्छ । त्यो भन्दा बरु चार वर्षेमा नै हाम्रा विद्यार्थी पास आउट हुने गरी कार्यक्रम गरौं भन्नेमा छौं । अहिले तत्कालै त्यस्तो भनेर हुन्छ र ! यो केटाकेटी खेलेजस्तो कुरो त होइन त ! त्यही किसिमका पाठ्यक्रमहरु बन्नु पर्यो । त्यही किसिमका योजनाहरु बन्नुपर्यो ।’

त्यस्तै त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले पनि स्नातक तहलाई तीन वर्षे बनाउने विषयमा कुनै छलफल वा कुराकानी नभएको बताए । उनले त्रिविको वार्षिक नीति तथा कार्यक्रमको आधारमा यस्तो विषय बाहिर ल्याइएको हो कि भन्ने आशंका गरे । अनलाइनपानासँग उनले भने, ‘त्रिविका वार्षिक नीति तथा कार्यक्रममा भविष्यमा यस्तो क्रियाकलाप गर्ने भन्ने विषयलाई लिएर यस्तो कुरा आएको हुनुपर्छ । यस विषयमा कुनै आधिकारिक निर्णय वा छलफल भएको छैन ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १८:५१   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।