काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
उप–राष्ट्रपति रामसाहय प्रसाद यादव, परराष्ट्र मन्त्री एन.पी साउदलगायतका व्यक्तिहरुको उपस्थितिमा साधारण सभाले चेक रिपब्लिकका अनररी कन्सुलर जनरल विष्णुकुमार अग्रवाललाई संगठनको नयाँ डिनका रुपमा नियुक्त गरेको छ ।
उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कप्र्सले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरे । ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो । यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उपराष्ट्रपति यादवले भने, ‘नेपालमा लगानीका सम्भावना भएको क्षेत्रहरु धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’
त्यस्तै परराष्ट्रमन्त्री एन पी साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले दौत्य सम्बन्ध कायम भएका देशहरुको प्रतिनिधित्वमा गर्दै नेपालको व्यापार तथा पर्यटन प्रवद्र्धनमा दूतहरुले खेलेको भूमिको प्रशंसा गरे । उनले एचसीसीएनका सदस्यहरुबाट प्रदान गर्ने सेवालाई सहज गर्न पहल गर्ने पनि बताए ।
कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहेको बताए ।
‘प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौं’ श्रेष्ठले भने, ‘हाम्रो जिम्मेबारी निर्वाह गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा म परराष्ट्र मन्त्रालयलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्छु । हाम्रो निस्वार्थ सेवालाई सहज बनाउन आवश्यक सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छौं ।’
कार्यक्रममा उपराष्ट्रपतिले एचसीसीएनका पूर्व डिनहरु गजेन्द्रबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनयमान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्तराज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्रकुमार खेतान (पोर्चुगल), आङछिरिङ शेर्पा (बेल्जियम), प्रदिपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मान गरेका थिए ।
१६ औं साधारणसभाले नयाँ डिनका रुपमा विष्णुकुमार अग्रवाललाई चयन गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती गरिएको थियो । भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक छन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।
…




















प्रतिक्रिया