धनगढी — भागबन्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यन्त्रीलाई पत्र लेखेपछि सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार तत्कालका लागि पर धकेलिएको छ ।
नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा संसदीय दलले सांसद रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र कैलाश चौधरीलाई सोही मन्त्रालयमा राज्यमन्त्री पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार शपथ गराउने तयारी पनि गरेका थिए ।
तर सांसद कैलाश चौधरी र रामेश्वर चौधरी मन्त्री बन्न उत्साही भए पनि नागरिक उन्मुक्ति पार्टीले पत्र काटेपत्र मन्त्रीपरिषद् विस्तार नभएकाे हाे । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यमन्त्री शाहलाई पत्राचार गर्दै भागबन्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी गराइन् । अध्यक्ष चौधरीको पत्रपछि मुख्यमन्त्री शाहीको मन्त्रिपरिषद् विस्तारको प्रयास राेकिएकाे हाे।

सुदूरपश्चिममा कांग्रेस, माआोवदी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनमा सरकार बनेको छ । कांग्रेस नेतृत्वको सरकारमा हाल मुख्यमन्त्रीसहित कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीबाट एक मन्त्रालयको नेतृत्व छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै मन्त्रीविहीन छ । कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि लिएको थियो । मन्त्री भएको एक महिनामै पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि हाल उक्त मन्त्रालयको नेतृत्व पनि रिक्त छ ।















प्रतिक्रिया