Logo

मेची प्रादेशीक अस्पतालको पीसीआर ल्याव बन्द



झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ । सञ्चालनमा आएको एक महिना बित्न नपाउँदै प्रयोगशाला बन्द हुँदा परीक्षणका लागि धरान र विराटनगर जानु पर्ने बाध्यता कायमै छ ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि एक महिना अगाडि स्थापना गरिएको पीसीआर प्रयोगशाला बन्द भएको हो । प्रयोगशालाल स्थापना भएपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास गरिएको थियो तर प्रयोगशालाका लागि चाहिने आवश्यक सामग्री अभाव भएपछि परीक्षण कार्य अहिले ठप्प भएको छ । आवश्यक सामाग्रीको अभावमा परीक्षण हुन नसक्दा रिपोर्टका लागि धरान र बिराटनगर जानु पर्ने बाध्यता कायमै छ ।

पीसीआर प्रयोगशालाका लागि चाहिने प्लेट कभर सकिएपछि झण्डै दुई सातादेखि अस्पतालमा स्वाब परीक्षण कार्य रोकिएको अस्पतालले जनाएको छ । स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिनबाट अस्पतालले तीन हजार भन्दाबढीको स्वाब परीक्षण गरिसकेको छ । तर, प्रयोगशालाका लागि चाहिने प्लेट कभर सकिएपछि स्थगित भएको परीक्षण कार्य कहिलेदेखि सुचारु हुने हो टुङ्गो छैन ।

प्रदेश र संघीय सरकार मार्फत प्रयोगशालामा आवश्यक सामग्रीको व्यवस्थापनका लागि पहल भइरहेको अस्पतालले प्रशासनले जनाएको छ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा संकलन गरिएको नमुना स्वाब परीक्षणका लागि धरान र विराटनगर पठाउनुपर्ने बाध्यता छ ।

यसो त नागरिक स्तरबाट पनि कोरोना परिक्षणको दायरा बढाउनका लागि एकका लागि एक अभियानले कन्काई नगरपालिकाको कोटिहोममा स्थापना गरेको ल्याब पनि सञ्चालनमा आउन सकेको छैन । मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको प्रयोगशाला प्राविधिक पक्ष ढिलाईका कारण सञ्चालनमा आउन नसकेको हो ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार