Logo

धर्म / संस्कृति

सार्वजनिक बाटो र सम्पदा जोगाउन मेयर चिरिबाबुलाई टक्कर दिने ‘ललितपुरका बालेन’ !

जसले रोके बन्दै गरेको ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको काम



काठमाडौं । विशेष गरी काठमाडौंको सभ्यता नेवार समुदायसँग सम्बन्धित छ । काठमाडौं उपत्यकामा नेवार समुदायका नागरिकहरुकै बाहुल्यता रहेका कारण पनि यहाँका संस्कार, संस्कृति तथा सभ्यतामा नेवार समुदायको एकछत्र राज रहेको छ।

काठमाडौं महानगरमा बालेन्द्र शाह उर्फ बालेन निर्वाचित भएपछि झन नेवार समुदायकाे सभ्यता र संस्कारको संरक्षणमा काम गरेको भन्दै प्रशंसा हुने गरेको छ । बालेन भन्ने बित्तिकै सभ्यता जोगाउने, सार्वजनिक बाटोघाटो संरक्षण गर्ने मठ मन्दीरहरुको संरक्षण गर्न उर्जाशील तरिकाले लाग्ने व्यक्तिको रुपमा लिने गरिन्छ । त्यसैले काठमाडौंमा त ‘बालेन’ शब्द नै सार्वजनिक सम्पत्ति र सम्पदा जोगाउने ‘ब्राण्ड’को रुपमा परिचित छ ।

तर ललितपुर बुङ्मति घर भएको बुद्धिरत्न शाक्य ‘ललितपुरका बालेन’ उपनामले चिनिन थालेका छन् । सामान्य किसानी काम र लेखापढी गरेर जीवन धान्दै आएका बुद्विरत्न शाक्य पछिल्लो समय आफ्नो निजी सम्पत्ति बेचेरै सार्वजनिक बाटो हडप्ने, नक्सा अनुसार बाटो मिचिएको ठाउँमा बाटो पुनर्स्थापना गराउनदेखि प्राचिन सम्पदा संरक्षण गर्न ललितपुर महानगरपालिका बिरुद्ध नै कानुनी लडाईँ लड्दै आएका छन्। पाटन क्षेत्र नेवार समुदायको पुरानो महत्वपूर्ण ठाउँ मानिन्छ ।

महानगरले बनाउन प्रस्ताव गरेकाे नयाँ भवनकाे डिजाइन

पछिल्लो समय उनले ललितपुर महानगरपालिकाले बनाउँदै गरेको नयाँ प्रशासनिक भवन सँगै जोडिएको बुद्धचैत्यको प्राचिन स्मारक मिच्ने गरी काम गरेको भन्दै महानगरको काम बिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराए । प्राचिन स्मारक बुद्धचैत्य मन्दिर र बन्दै गरेको भवनको ग्यापमा १० फिट ठाउँ छाडेर भवन बनाउनुपर्ने नियम महानगरपालिकाले नै बनाएको छ । तर महानगर आफैँले उक्त नियम मिचेपछि बुद्धरत्न शाक्य त्यसको विरुद्ध अदालत गएर काम रोक्न सफल भए ।

त्यस्तै उनले ललितपुर महानगरभित्रको प्रशासनिक भवन वरीपरीको जग्गाको कम्पाउण्डमा भएको ठाउँमा बाटो मिचेको विषयमा महानगरपालिकाबिरुद्ध अदालतमा मुद्दा दर्ता गरी बाटो कायम गराइदिन सफल भएका छन् । उनले दर्ता गराएको मुद्दाअनुसार महानगरको कम्पाउण्डमा रहेको खाली ठाउँ जहाँ चौर, बगौँचा र पोखरी रहेको छ, त्यहाँ ‘हिड्न मिल्ने गरी पहिलाकै अवस्थामा बाटो कामय गर्नु’ भन्ने अदालतको आदेश आएको छ ।

पछिल्लो समय महानगरपालिका आफैँले बनाएको भवन पनि आफैँले बनाएको मापदण्ड अनुसार नभएपछि शाक्यले अदालतमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामा अदालतले भवन निर्माण कार्य तत्काल रोक्न र छलफलमा आउन भनेर पत्र काटेको छ ।

बुद्ध चैत्य र नयाँ बन्दै गरेकाे ललितपुर महानगरकाे प्रशासनिक भवनकाे ग्याप
बुद्ध चैत्य र नयाँ बन्दै गरेकाे प्रशासनिक भवनकाे ग्याप

ललितपुर महानगरपालिकाको अहिलेको भवन रहेको ठाउँमा सरकारी जग्गा कम्पाउण्डमा घेरिएर राखिएको छ । उक्त कम्पाउण्ड क्षेत्रमा धार्मिक क्रियाकलाप गर्ने चलन छ। पितृ श्राद्ध गर्दा पीण्ड बनाउने तथा सेलाउने ठाउँ पनि त्यही रहेको छ । विशेष गरी नेवार समुदायले त्यहाँ धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्छन । तर पछिल्लो समय महानगरपालिकाले नयाँ भवन बनाउँदै जाँदा त्यहाँको खाली जग्गा सक्किने अवस्थामा पुगेको भन्दै शाक्य चिनित हुन थालेका छन् । खाली जग्गा जोगाउन र महानगरलाई काम गर्दा आफैँले बनाएको कानुन नमिचिने गरी बनाउन दवाव दिइरहन्छन्, बुद्धरत्न शाक्य ।

बौद्ध चैत्यलाई मिचेर महानगरपालिकाले नयाँ प्रशासनिक भवन निर्माण गरेपछि शाक्यले त्यसलाई रोक्न महानगरपालिकामै मुद्दा दायर गरेका थिए । तर महानगरपालिकाका मेयर चिरिवाबु महर्जनले उनको कुरा सुनेनन् । काम निरन्तर भइरहेपछि शाक्य पुगे जिल्ला अदालत ललितपुर र मुद्दा दर्ता गरे । मुद्दा परेपछि ‘स्टे अर्डर’ आयो र महानगरपालिकाले ठड्याउँदै गरेको नयाँ प्रशासनिक भवनको काम रोक्न बाध्य भयो । बौद्ध चैत्य भएको ठाउँ र नयाँ भवन बन्ने ठाउँको ग्याप १० फिट छोड्नुपर्नेमा महानगरपालिकाले दुई फिट मात्रै छाडेर नयाँ प्रशासनिक भवन बनाउन थालेपछि शाक्यले मन्दिर जोगाउन अदालत जानु परेको बताए ।

ललितपुर महानगरपालिका आफैँले बनाएकाे ऐन

महानगरपालिकाको ऐनमै नयाँ भवन तथा संरचना बनाउँदा ‘सार्वजनिक निकायले नियम पालना नगरी भवन निर्माण गर्न नहुने’ उल्लेख गरिएको छ। तर महानगरपालिका आफै नियम मिचेर भवन बनाउन लागिपरेको पाइएको छ । ललितपुर महानगरपालिकामा गरिने निर्माण सम्बन्धी ऐन र मापदण्डको संग्रह २०७६ मा उल्लेख गरिएको मापदण्डको तेस्रो नम्बर बुँदामा लेखिएको छ, ‘संरक्षण क्षेत्र भित्रका तोकिएका स्मारक वरिपरी सन्धी सर्पन गर्ने कित्ताहरुमा घर भवन निर्माण गर्दा स्मारकपट्टी कम्तिमा १० फिट छाडेर मात्र निर्माण गर्न पाइने छ ।’

महानगरपालिकाले पुरानो बुद्ध चैत्यको मन्दिरमै टँस्याएर नयाँ प्रशासनिक भवन बनाए पछि आफैँले बनाएको कानुन आफैँले मिचेको पाइएको हो । शाक्यले यस्तै मछिन्द्रनाथको बुङ्मतिको घर मिच्न खोजेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् । त्यस्तै उनले सार्वजनिक बाटो बन्द भएका ठाउँमा बाटो खुलाउन पनि पहल गरेका छन्। बुङ्मतिमा मछिन्द्रनाथको रथ तानेर लैजाने र रथ निर्माणका लागि चाहिने समान लैजान दुईवटा बाटो भए पनि एक बाटो बन्द गरएपछि शाक्यले नै बाटो खुलाउन पहल गरे ।

सामान्य किसान परिवारका शाक्यको बुबा आफू सानै हुँदा बितेको बताए। उनका आमाको निधन भएको केही वर्ष भएको छ । परिवारमा श्रीमती, र चार सन्तान रहेका शाक्यले सरकारी मुद्दा गरेरै मुद्दतीमा राखेको २० लाख रुपैयाँ समेत सकेका छन् । उनले भैँसीपाटीमा रहेको जग्गा बेचेर राखेको मुद्दतीको २० लाख रुपैयाँ सरकारी तथा सार्वजनिक स्थलहरुको संरक्षण गर्न खर्च गरेका छन् । शाक्यले निजी सम्पत्ति यसरी सकेपछि परिवारले भने उनलाई राम्रो मानेका छैनन् । शाक्य अझै पनि सरकारी सम्पत्ति जोगाउन लागिपर्ने बताउँछन् ।

कसरी सम्पदा संरक्षणमा लागे शाक्य ?

बुङ्मतिमा एक ठूलो पोखरी रहेको छ । त्यो पोखरीमा युधिष्ठिरको श्रीमती द्रौपति बसेको धार्मिक विश्वास गरिन्छ । त्यसको क्षेत्रफल चार रोपनीभन्दा बढी रहेको शाक्य बताउँछन् । त्यो ठाउँमा व्यापारिक घरानाहरुले ठूलो भवन निर्माण गरेपछि शाक्यले त्यसको बिरोध गरे । उनले त्यहाँका बुद्धिजिवीदेखि ललितपुरका मेयरसम्मलाई उक्त ठाउँ पोखरी भएको बताए । तर उनको कुरा कसैले सुनेन । बरु पहिलो कार्यकालमा रहेका चिरिबाबु महर्जन मेयरको रुपमा आएर पोखरीमा बनाएको भवनको उद्घाटन रिबन काटेर गरे ।

‘पोखरीमा बिल्डिङ बनाउनु हुँदैन । पोखरी त पोखरी हो नि !’, शाक्यले भने, ‘मछिन्द्रनाथको रथ तान्दा रथ तलदेखि माथिसम्मको भाग उक्त पोखरीमा देखिने भएकाले मछिन्द्रनाथको छाँया दर्शन त्यहाँ हुने गर्छ । विदेशी सहयोग लिएर सम्पदामा पोखरी बनाउन कहाँ पाइन्छ ?’ शाक्यले त्यहीँबाट सम्पदाको संरक्षणमा जुट्ने निधो गरे । उक्त विषयमा उनले अदालतमा मुद्दा दायर गरे । आफू बिरामी परेका कारण विपक्षीहरुले उक्त मुद्दा जितेको बताए । उनी उक्त विषयमा अर्को मुद्दा दर्ता गर्ने तयारीमा रहेको बताउँछन् ।

उनलाई मुद्दा गर्दा बेलाबेला धम्की पनि आउने गरेको छ । तर आफू धम्कीले नडराउने शाक्य बताउँछन् । उनी यसरी २०७३ सालदेखि सम्पदा संरक्षणमा लागि परेका छन् । पहिला आफू सम्पदा संरक्षण गर्न एक्लै लडे पनि अहिले केहीले साथ दिन थालेको शाक्य बताउँछन् ।

मुद्दा लड्दा त पैसा खर्च लाग्छ नि भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘पैसा त कसैसँग लिएको छैन । आफ्नै पैसा खर्च गरेको छु । मेरो लालिगुराँस सहकारीमा २० लाख रुपैयाँ पैसा मुद्दत्तिमा थियो । त्यो सबै सक्किसक्यो ।’ फाष्ट ट्राकबाट आएको पौने ६ लाख रुपैयाँ पनि सकिएको उनी बताउँछन् । उनी थप भन्छन्, ‘जग्गा बेचेर रहेको पैसा हो त्यो । अहिले त घरमा दुःख छ । तर मन हारेको छैन, अरु जसले जे गरे पनि । म चाहिँ यो काम सल्टाउँछु । बरु अरु जग्गा बेचेर भए पनि यो सबै सरकारी सम्पत्ति हडप्ने काम रोक्छु ।’

भवन निर्माणको काम तत्काललाई रोक्न ललितपुर महानगरलाई अदालतको आदेश

‘मेरो घरमा यो काम गरेकोमा सबै असन्तुष्ट छन्। पैसा जोगाउन सकिरहेको छैन । मैले अहिले मुद्दाका कारण खेतको पनि काम गर्न सकिन’, शाक्य भन्छन्, ‘असारमा पानी परेको परै भयो । अनि मुद्दाको काम पनि गर्नुपर्यो ।’ बुङ्मतिमा १२ रोपनीको हाराहारीमा जग्गा रहेको र त्यसैबाट परिवारको गुजारा गर्दै आएको शाक्यले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १४:१३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।