काठमाडौं । जनमत पार्टीलाई सरकारमा ल्याउन नेकपा माओवादी केन्द्रले अमनलाल मोदीलाई ‘बलिको बोको’ बनायो । पटक–पटक जनताबाट निर्वाचित भई पहिलाे पटक मन्त्री बनेर केही सुधारका कामसमेत गरेका मोदीलाई फिर्ता बोलाएर उनले सम्हालेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनमतकी अनितादेवी साहलाई दिइएको हो ।
समान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेको सात महिनाको अवधिमा मोदीले संघीय निजामती विधेयकको मस्यौदा तयार पार्नुका साथै दुर्गममा जान नमान्ने कर्मचारीको सिंहदरबारबाट सरुवा, कार्यालय समयमा मन्त्रालय नपुग्ने सचिव तथा सहसचिवको हाजिरी किताबमा रातो मसी लगाई थिति बसाल्न सुरुवात गरेका थिए । तर मोदीलाई नै फिर्ता बोलाउने माओवादी निर्णयपछि उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भए । सो क्रममा उनले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे । जसमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा र निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमुना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगत रुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत उल्लेख छ । ४५ बुँदामा मोदीले आफ्नो कार्यप्रगति सार्वजनिक गरेका छन् ।




















प्रतिक्रिया