पर्सा । जन्मसिद्धको नागरिकता लिएका बुबाआमाका सन्तानलाई वंशजको नागरिकता दिने गरी नागरिकता ऐन संशोधन भएसँगै तराईँका जिल्लाहरुमा जन्मसिद्धको नागरिकताबाट वंशजको नागरिकता लिनेको भीड बढेको छ ।
भीड बढेसँगै नागरिकता बनाउन नपाएको, वडा सचिवदेखि वडा अध्यक्षसम्मले सिफारिस दिन आनाकानी गरेको जस्ता गुनासा पनि बढेका छन् । अनलाइन पानाको कार्यालयमा उत्तम कुमारले आफूलाई वडा अध्यक्षले छोराछोरीको नेपाली वंशजको नागरिकता बनाउन सिफारिस नदिएको गुनासो गरेका छन् ।
आफ्नो जन्मसिद्ध नागरिकता भएको, श्रीमतीको अंगिकृत नागरिकता भएको भए पनि वीरगंज महानगरपालिकाको वडा नम्बर १ ले छोराछोरीको वंशजको नागरिकता बनाउनका लागि सिफारिस नदिएको गुनासो उत्तम कुमारले गरेका हुन् । काठमाडौंमा व्यापार गरेर बस्ने उत्तम कुमारलाई वीरगंज महानगरपालिका वडा नम्बर एकका अध्यक्ष मनोज गुप्ताले छोराछोरीको लागि नागरिकता बनाउनका लागि चाहिने सिफारिस नबनाइदिएको गुनासो गरे । उत्तमकुमारले छोरा छोरीका लागि नागरिकता बनाउन जाँदा वडा सचिवले समेत आफूलाई दुव्र्यवहार गरेको बताए ।
तर वीरगञ्ज महानगरपालिका वडा नम्बर एकका अध्यक्ष मनोज गुप्ताले उत्तम कुमार भारतीय नागरिक भएको आरोप लगाए । उनले उत्तम कुमार भारतमा बस्ने भनेर ठाउँ नै किटान गरे । तर नागरिकता बनिसकेको विषय छ नि भन्ने प्रश्नमा पनि पाँच सय तिरेर नागरिकता लिने समयमा उहाँले नागरिकता बनाएको जवाफ वडा अध्यक्षले दिए । उता उत्तम कुमाले भने आफू नेपालमै जन्मेको र यही व्यवसाय गरेर बसेको बताएका छन् ।
तर वडा अध्यक्ष भने उत्तम कुमारको नक्कली नागरिकता भएको भन्ने जवाफ दिन्छन् । वडा अध्यक्ष गुप्ताले अनलाइन पानासँग भने, ‘मैले उत्तम कुमारको बारेमा ए टूजेट बुझिसकेँ । उत्तम कुमार राजस्थान इण्डिया झुनझुनुको व्यक्ति हो । उहाँले २०६३ सालमा नागरिकता लिएको हो, जुनबेला नागरिकता ५०० मा बिक्री हुन्थ्यो । नागरिकता लिएर गएर काठमाडौं बस्नुभयो । उहाँ छोराछोरीको नागरिकता बनाउन आउनु भएको थियो । गृहमन्त्रालयले हामीलाई ९–१० वटा काजगपत्र सिफारिस बनाउनुभन्दा पहिला चाहिने भनेर अनुसूची बनाइदिएको छ । उहाँ दुई तीनवटा कागजपत्र बोकेर आउनुभयो । उहाँ मेरो वडा बासी नि हैन । म मेरो वडाका सबै बासिन्दा चिन्छु ।’ उनले आफूले वडाका सबै नागरिक चिनेको भन्दै उत्तम कुमारलाई नागरिकता दिने आधार नभएको बताए । अहिले वडा अध्यक्षलाई वडाका नागरिकको लागि चाहिने सबै सिफारिस दिने अधिकार हुन्छ । वडाको सिफारिस बिना नागरिकता बनाउन भने सकिँदैन ।
गुप्ता त्यतिमा मात्रै रोकिएनन्, धेरै भारतीय नागरिकले झुक्याए् नेपाली नागरिकता लिएको समेत अनलाइन पानालाई बताए । वडा अध्यक्ष गुप्ताले भने, ‘उहाँ (उत्तम कुमार)लाई मैले स्थायी घर देखाइदिन भने । उहाँले एकजना मुस्लिम समुदायका मानिसलाई फोन गर्नुभयो । अनि हामी सर्जिमिन मुचुल्का लिन त्यहीँ गयौं। त्यहाँ मान्छेहरुको भीड लागेको थियो । मैले ती मुस्लीम समदायका नागरिकलाई सोधेँ– तपाईँ यो मान्छेलाई चिन्नुहुन्छ ?, उहाँले ‘होइन म चिन्दिन, एक/दुई वर्षमा एकचोटी आउनुहुन्छ भन्नुभयो ।’
वडा अध्यक्ष गुप्ताले मुस्लिम नागरिकले ‘आफूलाई आर्थिक प्रलोभन देखाएका कारण नागरिकता बनाउन सहयोग गरदिएको’ भन्ने जानकारी दिएको र त्यसको रेकर्ड आफूसँग रहेको अनलाइन् पानालाई बताए ।
वडा अध्यक्ष गुप्ताले थप भने, ‘अनि वरपरका मान्छेलाई पनि मैले बोलाएँ । सबै मान्छेहरुले भन्नुभयो। म यो मान्छेलाई चिन्दिनँ, बरु पुलिसलाई बोलाउनुस् । उहाँलाई पुलिसलाई हवाला गर्नुहोस् । पुलिसलाई बुझाउनुहोस्, उहाँलाई । नक्कली नागरिकता ल्याएर म यहाँ बस्छु, त्यहाँ बस्छु भन्ने ? बसोबास कसरी प्रमाणित गर्ने भन्नुहोस् त ! जबकी न मेरो वडामा उहाँको जग्गा छ । न बसाइसराईँ आएको प्रमाण छ । न केही प्रमाण छ !’
वडा अध्यक्ष गुप्ताका अनुसार भारतको रक्सौलका दुई हजारदेखि पच्चिस सय नागरिकले नेपाली नागरिकता बनाएका छन् । उनी भन्छन्, ‘मेरो वडा भारतसँग जोडिएको बोर्डर हो । रक्सौलका धेरैले नेपालमा आएर जग्गा जमीन पनि किनिसकेका छन् । मसँग नागरिकता बनाउन आउने केहीलाई प्रहरीमार्फत कारबाही गर्न भनेपछि भागेका पनि थिए । उत्तम कुमारले म सँग बसाईसराई पनि माग्नुभयो। ‘इन’ (भित्रिएको) नै छैन भने म आउट (बाहिर जाने सिफारिश) कसरी गरिदिउँ ? नक्कली नागरिकताधारीहरुबारे पब्लिकहरुले पनि लगेर निवेदन दिइसके मेरो समितिमा । मेरो वडामा अग्रवाल भन्ने मान्छे नै कोही छैन ।’
वडा अध्यक्ष गुप्ताले २०६३ मै १० हजारभन्दा बढी फर्जी नागरिकता वितरण गरेको ठोकुवा गरे । र, उत्तम कुमारको त्यही फर्जि नागरिकता भएको बताए । तर उत्तम कुमारले भने आफ्नो सिन्धुपाल्चोकमा जमीन समेत रहेको बताएका छन् । उनले वडा अध्यक्षले सबै कागजात हुँदा हुँदै नागरिकता नबनाइदिएको आरोप लगाए ।
पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी शिवप्रसाद लम्सालले भने. आवश्यक कागजात भए प्रशासन कार्यालय आएर सहयोग माग्न अनुरोध गरे। उनले भने, ‘उहाँले आफ्नो डकुमेन्ट लिएर जिल्ला प्रशासन कार्यालयमा आउनुभयो भने हामी हेछौं । अनि के कुरा जेन्युइन हो बुझेर वडा कार्यालयलाई केही भन्नुपर्ने भयो भने हामी त्यही अनुसार कोअर्डिनेसन पनि गछौं र निर्देशन पनि दिन्छौं ।’
उत्तम कुमारले घर जग्गा वीरगंजमा नभएको बताए । तर जन्मसिद्धको नागरिकता भने बिरगञ्जबाटै बनाएको बताए । पर्साका सहायक प्रजिअ लम्सालका अनुसार स्थायी बसोबास भएकै ठाउँबाट नागरिकता लिनुपर्ने प्रावधान रहेको छ । यदी स्थायी घर जग्गा कहीँ छैन भने नागरिकता जारी भएकै ठाउँबाट नागरिकता लिन पाउने लम्सालले बताए । उत्तम कुमारले भने आफ्नो नागरिकता वीरगंजबाटै बनाएको र अन्य ठाउँमा कहीँ स्थायी बसोबासको प्रमाण नरहेको बताए । उनले काठमाडौंमा व्यवसाय समेत वीरगंजकै नागरिकताको आधारमा सञ्चालन गरेको र राज्यलाई कर समेत तिरेको बताए । उनले आफूले प्यान समेत त्यहीँको ठेगानामा बनाएको तर छोराछोरीको नागरिकता बनाउन वडाले सिफारिस नदिएको गुनासो गरे ।




















प्रतिक्रिया