Logo

राजनीति

प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए ।

उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए ।

उनले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

नेता ओलीले भनेका छन्, ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यौं । विघटन गर्‍यौं । हामीले ठिक ठानेर गर्‍यौं । ठिक भनेर गर्‍यौं । ठिक थियो र गर्‍यौं । नगरी नहुने थियो र गर्‍यौं । बिल्कुलै समसामयिक कदम चाल्यौं । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौं । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधिसभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो ।’

अध्यक्ष ओलीले त्यो ‘षड्यन्त्र’ गर्ने समूह को हो भन्नेबारे विस्तृतमा भने खुलाएका छैनन् । यसअघि भने उनले पटक पटक पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरूलाई लक्षित गर्दै तत्कालीन नेकपा फुटाएको आरोप लगाउने गरेका थिए । जवकि, केपी ओलीले दुईपटक संसद्‍ विघटन गरेसँगै ओली र दाहाल अध्यक्ष रहेको तत्कालीन नेकपा विभाजित बनेको थियो ।

उनले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १६:४६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।