काठमाडौं । नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका छन् । मण्डल उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बनेका हुन् ।
नवनियुक्त मन्त्री मण्डलले आजै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।
सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि चाहिने बहुमत संख्या ४७ पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ । उनी नेकपा एमालेकी सांसद हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् ।
थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ । प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ ।




















प्रतिक्रिया