काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय गरेको छ । सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने पनि हमालले बताए ।
उपाध्यक्ष हमालका अनुसार मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । हाल मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्दै आएका छन् ।
आजको बैठकले मोर्चाको प्रदेश संयोजक सातै प्रदेशमा हुने सभामा घोषणा गर्ने निर्णयसमेत गरेको मोर्चामा आबद्ध नेकपा नेता नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।
मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको विप्लवले जानकारी दिए । उनले भने, ‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छौं । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’
मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।















प्रतिक्रिया