Logo

राजनीति

उपसभामुख दनुवारको बिरामी परेको पत्रपछि अलमलमा सत्ता गठबन्धन



काठमाडौं । अचानक बिरामी परेको भन्दै प्रदेशसभा बैठक सञ्चालन गर्न नसक्ने उपसभामुख सिर्जना दुवारको पत्रपछि कोशीमा सत्ता गठबन्धन अलमलमा परेको छ । सभामुखलाई राजीनामा गराएर दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले आज (सोमबार)को प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थियो । तर प्रमुख प्रतिपक्षी एमालेबाट उपसभामुख बनेकी दनुवारले बिरामी परेको पत्र पठाएपछि सत्ता गठबन्धन दलहरू अलमलमा परेका हुन् ।

सभामुख र उपभामुख दुवैको अनुपस्थितिमा बैठक सञ्चालनका लागि बनाइएको ज्येष्ठ सदस्यको अध्यक्ष मण्डल बनाइएको थियो । उक्त अध्यक्ष मण्डलमा रहेका ज्येष्ठ सदस्यहरूमध्ये एमालेकी सांसद लिलाकुमारी लिम्बु र राप्रपाका अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार कांग्रेसका इस्राईल मन्सुरीलाई बैठकका अध्यक्षता गर्ने जिम्मेवारी उपसभामुखले दिइकी छन् ।

विश्वासको मत पाउन कांग्रेसका प्रदेशसभापति समेत रहेका थापाले कम्तिमा ४७ मत ल्याउनै पर्छ । अहिले सत्ता गठबन्धनसँग कोशीमा ४७ मत नै छ । तर त्यसमध्ये कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरे ४६ मात्रै हुन्छ, किन कि बैठकको अध्यक्षता गर्नेलाई मतदान प्रक्रियामा सहभागी हुन संवैधानिक अड्चन छ ।

यस्तो अवस्थामा सत्ता गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा अलमलमा परेका हुन् । उपसभामुखको पत्रलगत्तै बिहान आकस्मिक बैठक बसेका उनीहरू कुनै निष्कर्षमा पुग्न सकेनन् । सत्ता गठबन्धनकी एक सांसदले भने, ‘सभामुखले बिरामी भएको भनेर पत्र पठाएपछि हामीले छलफल त ग¥यौं । तर कुनै निष्कर्षमा पुग्न सकेका छैनौं ।’

यसअघि एमालेकी उपसभामुख दनुवारले राजीनामा दिन सक्ने आशंकमा सत्ता गठबन्धनले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएको थियो । त्यसपछिका दुई ज्येष्ठ सदस्य विपक्षी गठनबन्धन एमाले–राप्रपाका रहेकाले मण्डललाई मन्त्री बनाएर मुख्यमन्त्री थापाले ‘सेफ जोन’मा रहने प्रयास गरेको थिए । तर एमालेले अन्तिममा शक्तिशाली गोटी चालेपछि भने गठबन्धन हायलकायल बनेको हो ।

एमालेले दायर गरेको रिटमा सुनुवाइ गर्दै थापाको पहिलो नियुक्ति सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउन १६ मा पुनः थापा नै मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को २ बमोजिम दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १४ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । नियुक्ति भएको ३० भित्रमा प्रदेशसभाबाट विश्वास नपाएको अवस्थामा थापा मुख्यमन्त्रीबाट स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।

 

  • याे पनि…

कोशी प्रदेशकी उपसभामुख काठमाडौंमा, मन्सुरीलाई दिइन् बैठक चलाउने जिम्मेवारी

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १२:१४   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।