Logo

कोशी प्रदेश

गैर नागरिकलाई नागरिकता प्रदान गर्ने पूर्व वडाध्यक्ष पक्राउ



दमक । झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्ववडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गते गरेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष रहेका राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाई दिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

अदालतको फैसला आएपछि उनी फरार थिए । उनलाई आइतबार पक्राउ गरिएको हो । पक्राउ गरेर अदालतमा पेस गरेर फैसला कार्यान्वयन लागि कारागार चलान गरिएको पनि रिजालले बताए ।

राजवंशीले जानाजान रूपमा नक्कली कागजपत्र बनाएर जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ गैर नेपालीलाई नागरिकता दिन भूमिका खेलेको आरोप लागेको थियो । त्यो समयमा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पाइएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १०:४१   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।