Logo

राजनीति

समाजवादी मोर्चा गठन ‘इफेक्ट’ : टाढिँदै प्रचण्ड–बाबुराम

कहाँ अड्कियो एकता प्रक्रिया ?



काठमाडौं । बृहत् वामन्थी ध्रुवीकरणको बहसकाबीच चलेको नेकपा माओवादी केन्द्र र नेपाल समाजवादीबीचको पार्टी एकीकरणको चर्चा अहिले सेलाएको छ । अधिकांश एजेन्डा मेल खाएको भन्दै निकट भविष्यमै एक हुने गरी गत आमनिर्वाचनमा यी दुई पार्टीका उम्मेदवार एउटै चुनाव चिह्नबाट लडेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई स्वंयले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको मुद्दा मिलेको बताएका थिए । २०७९ भदौ १० मा पार्टीकै काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादीले उतिबेलै नोट अफ डिसेन्ट लेखेको उल्लेख गरेका थिए । ‘त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्नसक्छ । तर संघीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भनेर त माओवादीले हामी छँदै त्यतिबेलै नोट अफ डिसेन्ट लेखेको हो । अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ । दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ । त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो । अहिले पनि त्यो मुद्दा उनीहरूसँग मिल्छ’, अध्यक्ष भट्टराईको भनाइ थियो । नेसपा प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ भन्ने पक्षमा छ ।

२०७९ मंसिरमा आनिर्वाचन सम्पन्न भएलगतै नेसपाले पुस २६ मा पार्टी एकताका लागि पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । माओवादीले त्यसअिघ पुस २३ मै नेसपासहितका कम्युनिष्ट एकताका लागि भनेर उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा समिति बनाएको थियो । दुवै पार्टीले समिति बनाएका करिब ८ महिना बितिसक्दा पनि एकताका कुनै ठोस प्रक्रिया अघि बढ्न सकेको छैन ।

एकताको चर्चाकैबीच असार ४ मा नेसपा बाहेकको समाजवादी मोर्चा बन्यो, जसले माओवादी–नेसपा एकताको सम्भावनालाई पर धकेकेको हो । जसबाट आफूहरू सशंकित भएको नेसपा सहअध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ बताउँछन् । ‘पछिल्लो चरणमा आउँदा जुन समाजवादी मोर्चा घोषणा भयो, त्यसले हामी अलिकति सशंकित भएकाे सत्य हो’, उनी भन्छन्, ‘सुरुवातमा समाजवादी एकताको पब्लिकली डिस्कस गर्ने मान्छे म । अनि म त्यहाँ नअटेपछि कस्तो समाजवादी मोर्चा बनाए भन्ने लागेर हाम्रा अध्यक्ष बाबुराम भटराई आशंकित हुनुभएकै हो ।’

नेसपा एकता वार्ता समितिका संयोजकसमेत रहेका श्रेष्ठ पार्टी एकताकै लाइनमा आफू रहेको बताउँछन् । त्यसका लागि शीर्ष तहमा नमिलेका र आशंकित पार्ने विषयबारे छलफल गर्नुपर्ने उनको भनाइ छ । ‘पार्टी एकता गर्नुपर्छ भन्ने नै मेरो लाइन हो’, उनी भन्छन्, ‘नमिलेका केही विषयहरूमा टप लेबलमा छलफल भइसकेपछि फेरि संस्थागत रुपमा नै नयाँ ढंगको पार्टी एकताको निर्णयमा पुग्न सकिन्छ ।’

सहअध्यक्ष श्रेष्ठले नेसपा माओवादीमा बिलिन हुन लागेको भन्ने खालका समाचारहरू पनि आइरहेकाले पार्टी एकता हुनु फरक विषय भएको बताए । ‘हामीले पार्टी एकता गर्ने भनेका हौं, तर बिलिन हुने होइन’, उनले भने, ‘रातो स्टीकर टाँसिएको घर भनेर गएको बाुबराम घुमिफिरी माओवादीमै भन्ने खालको जुन कुराहरू आउने गरेका छन्, वास्तवमा त्यो सत्य होइन । एकता भनेको विचार, एजेन्डा, संगठनात्मक नीति, सिद्धान्त र नेतृत्व प्रणालीसमेत मिलेपछि हुने हो ।’

‘नयाँ शक्ति बनाउँदा देखि अहिलेसम्म आउँदाखेरी बाबुराम धेरै नै दुविधामा हुनुहुन्छ । त्यो हिसाबले उहाँ माओवादीसहितको एकतामा जान सक्ने देखिन्छ । माओवादीसँगको एकीकरणमा जाँदा उहाँमा देखा परेको त्यो विचलन र दुविधाको अन्त्य त हुन्छ । तर उहाँको सैद्धान्तिक समस्याको निरुपन हुँदैन ।’

माओवादीसँगको एकताका लागि नेसपाले अघि सारेका सर्त मध्येको एक माओवादीबाहेकका नाम हुनुपर्छ भन्ने पनि हो । तर तत्काललाई नाम त्यागीहाल्ने पक्षमा माओवादी देखिँदैन । माओवादी सचिव लिलामणि पोखरेल भन्छन्, ‘बाबुराम जी कम्युनिष्ट नाम मान्ने कि नमान्ने दुविधामा हुनुहुन्छ । हामीले कम्युनिष्ट पार्टीको नाम छोड्न सक्दैनौं ।’

पार्टी एकता गर्ने विषयमा छलफल भने भइरहेकाे उनले बताए । ‘एकताका सन्दर्भमा कुरा चलिनै रहेको छ । अब चाँडै नै निर्णायक स्थितिमा पुग्छ’, सचिव पोखरेलले भने ।

नेसपाबाहेक माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वकाे नेकपाले समाजवादी माेर्चा बनाएसँगै राजनीतिक रुपमा प्रचण्ड–बाबुराम  एकअर्कासँग टाढिएका छन् । प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड आफ्नै काममा व्यस्त हुँदा पार्टी एकताबारे चासाे दिन पाएका छैनन्  भने बाबुरामले सार्वजनिक रुपमै एकताबारे कुनै निश्चितता नभएकाे बताउने गरेका छन् । बाबुराम स्वय‌ं आफू सत्तारुढ हाे कि विपक्षी भन्नेमा अलमलमा छन् ।

राजनीतिक विश्लेषक मुमाराम खनाल बाबुरामका लागि माओवादीसँगको एकता वास्तवमा असम्भव हुनुपर्ने बताउँछन् । ‘बाबुराम जीले हिजो माओवादीलाई रातो स्टीकर टाँसिएको घर हो । यसबाट जिउधनको क्षति हुन सक्छ भन्नुभएको थियो । त्यस हिसाबले त उहाँका लागि माओवादीसँग फेरि एकता सम्भवन नै नहुनुपर्ने हो’, उनी भन्छन्, ‘तर बाबुराम जी आफैमा जुन विचलन देखियो, त्यसले एकता हुन सक्ने पनि देखिन्छ ।’

माओवादीसँगको एकताले बाबुराम भट्टराईमा देखिएको विचलनको निरुपन हुने भएपनि उनको सैद्धान्तिक समस्याको निरुपन भने हुन नसक्ने विश्लेषक खनाल बताउँछन् । ‘माओवादीको विचार, संघगठन , कार्यशैली सबै नै अहिलेको समयानुकुल छैन । यसमा व्यापक परिमार्जनको आवश्यता छ भन्ने बाबुराम जीको कथनलाई विश्वास गर्ने हो भने माओवादीसँग एकता हुनै नसक्ने देखिन्छ’, उनले भने, ‘तर उहाँमा देखा परेको एक प्रकारको विचलन छ, जो नयाँ शक्ति बनाउँदा देखि अहिलेसम्म आउँदाखेरी उहाँ धेरै नै दुविधामा हुनुहुन्छ । त्यो हिसाबले उहाँ माओवादीसहितको एकतामा जान सक्ने देखिन्छ । माओवादीसँगको एकीकरणमा जाँदा उहाँमा देखा परेको त्यो विचलन र दुविधाको अन्त्य त हुन्छ । तर उहाँको सैद्धान्तिक समस्याको निरुपन हुँदैन ।’

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १८:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।