काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको आह्वानमा आज संस्थापन इतर पक्षको छुट्ट भेला बस्दै छ । भेला बालुवाटारस्थित सम्पर्क कार्यालयमा दिउँसो साढे १ बजे बस्नेगरी बोलाइएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अघि शेखरले बेलाएका बैठकमा पहिलो पटक महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि निम्तो दिइएको छ । तर शेखरको उक्त भेलामा महामन्त्री शर्मा र नेता पौडेल सहभागी नहुने निश्चितप्राय: छ ।
निकट स्रोतका अनुसार महामन्त्री शर्मा भेलामा सहभागी हुने सम्भावना निक्कै न्यून छ । ‘निमन्त्रणा आको चाहिँ पक्कै हो । तर त्यसभन्दा फरदर केही भाको छैन’, शर्मानिकट स्रोतले अनलाइनपानासँग भन्यो, ‘बैठकमा उपस्थित नै हुने सम्भावना चाहिँ निक्कै कम छ । जहाँसम्म जानुहुन्न नै हाेला ।’
आज ट्विटरमा पनि महामन्त्री शर्माले आफ्नो धारणा प्रष्ट्याएका छन् । उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।
डा. शेखरको निमन्त्रणा आएपनि नेता पौडेल भने उपत्यका बाहिर लागेका छन् । आफू भेलामा सहभागी हुन नसक्ने उनले स्पष्ट पारे । आफू प्लेन चढ्नै लागेको जानकारी गराउँदै नेता पौडेलले अनलाइनपनासँग भने, ‘आज म सहभागी हुन सक्दिन । बाहिर जान लागेको छु । अहिले प्लेन चढ्नै लाग्या छु, थप पछि कुरा गरौंला ।’
कहाँ र के का लागि जान लागेको भन्नेबारे भने नेता पौडेलले खुलाएनन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पर्सी (असोज ४ गते) बस्दैछ । यसअघि साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले इतर पक्षको भेला बोलाएका थिएनन् । जसकारण इतर पक्षका नेताहरूले शेखरमाथि प्रश्न उठाएका थिए । त्यसपछि अहिले बैठक बोलाएका हुन् । भेलामा बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ ।
केही दिनअघि विश्वप्रकाश–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले पनि बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्वप्रकाश–प्रदीप सहितकै बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । सोहीअनुसार बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
















प्रतिक्रिया