काठमाडौं । सेवा नै ठप्प पारेर गत ३१ भदौमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सडकमा आए । उनीहरूको माग थियो– कार्यस्थलमा स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने । मकवानपुर हेटौंडास्थित सञ्चो अस्पतालका दुईजना चिकित्सकहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेपछि सबै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित बनेका थिए । नेपाल चिकित्सक संघको आह्वानमा भएको उक्त आन्दोलनमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू प्रदर्शनमा उत्रिए थिए ।
तर सरकारको आग्रसरतापछि उक्त आन्दोलन लम्बिन पाएन । साेही दिन साँज सरकार र आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भयो । दुईपक्षीय सहमतिसँगै आन्दोलन स्थगित पनि भयो । सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने पवृत्ति कम गर्नेलगायत समस्या समाधान गर्ने गरी विधेयकको मस्यौदा तयार गर्नेलगायतका बुँदा समेटिएको छ । सहमतिपत्रमा स्वास्थ्य जस्तो अत्यावश्यक सेवालाई मर्यादित र संवेदनशील बनाउन चिकित्सकहरू तथा स्वास्थ्यकर्मीको तर्फबाट पनि प्रतिवद्धता नआएको होइन ।
तर उही माग राखेर, आफ्नो प्रतिबद्धताविपरीत मंगलबारदेखि आवासीय चिकित्सकहरू आन्दोलित आन्दोलित भएका छन् । मेडिकल अफिसर संघर्ष समितिको अगुवाईमा आन्दोलनलाई उनीहरूले बुधबार पनि निरन्तरता दिए । सरकारविद्ध नाराबाजी गरेका स्वास्थ्यकर्मीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतको राजीनामासमेत माग गरे । उनीहरूले ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘कामेको हातले उपचार सम्भव छैन’जस्ता नारा माइतीघरदेखि बानेश्वरसम्म घन्काए ।

अस्पतालमा पुगेर बिरामी परीक्षण गर्नुपर्ने समयमा चिकित्सकहरु सडकमा उत्रिएर नाराबाजी गर्दा बिरामी भने बिचल्लीमा परेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण कतिपय सर्वसाधारणको ज्यानै धरापमा पर्नुका साथै कतिले महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् ।
आफूहरूमाथि पटक–पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिनुपरेको बताएका छन् । उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको युवा चिकित्सक संघका संयोजकसमेत रहेका त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. निकोलस भुसाल (कमल)ले बताए । ‘निरन्तर डाक्टरहरूले पिटाइ खानुपरेको छ । यसविरुद्ध हो यो आन्दोलन । यसैगरी चिकित्सा सुरक्षा ऐन कार्यान्वयनका निमित्त हो । घटना दैनिक रुपमा बढिरहेको छ । तर साँच्चिकै भन्ने हो भने डाक्टरमाथि कुटपिट गर्नेमाथि अहिलेसम्म कारबाही भएको छैन’, डा. भुसालले भने, ‘लम्जुङमा डाक्टर कुट्ने वडाध्यक्षलाई कारबाही भयो ? पुलिसले हिजो कुटपिट गर्यो कारबाही भयो ? त्यो भन्दा अगाडिका यस्ता कुनै पनि घटनामा कसैलाई कारबही भएको छैन । अहिलेसम्म दुई/तीन जनालाई पक्राउ गरिएकोबाहेक कतै कारबाही भएको छैन ।’
‘दिनानुदिन श्रंखलावद्ध रुपमा डाक्टरहरूमाथि कुटपिटको घटना घटिरहेका छन्’, मेडिकल अधिकृत डा. राेजी भन्छिन्, ‘जसकारण हामी केही गर्न नसक्ने अवस्थामा पुगेका छौं । हाम्रा हातहरू काँपेका छन् । सिरियस केस हेर्न डर लाग्छ ।
सरकारले वार्तामा बोलाएपनि त्यसअघि आफूहरूका दुई वटा सर्त रहेको डा. भुसाले सुनाए । ‘हामीलाई वार्तामा बोलाउनुअघिको दुईवटा सर्त हाम्रो छ । कमसकेम डाक्टर कुट्ने वडाध्यक्ष र प्रहरीलाई कारबाही होस् । अनि वार्तामा बस्छौं’, उनले भने । चिकित्सक संघ र सरकारबीच यसअघि भएको द्विपक्षीय सहमतिमा आफूहरूले चित्त बुझाउन नसक्ने डा भुसाल बताउँछन् । आफूहरूसँग छुट्टै वार्ता नै हुनुपर्ने उनको भनाइ छ ।
अहिले सरकारले आफूहरूलाई पनि विदेशीन बाध्य पारेको आन्दोलित चिकित्सक तथा स्वास्थ्यकर्मीको आरोप छ । ‘अहिले २३ वटा जिल्लामा एउटा पनि डाक्टर छैनन् । भएका डाक्टरको ६० प्रतिशत गइसके, ३० प्रतिशत लाइनमा छन् । बाँकी हामी १० प्रतिशतलाई पनि जबरजस्ती धकाल्न त खोज्नुभएन नी’, डा. भुसाल भन्छन्, ‘यो हाम्रो रहर होइन ।’ बिरामीहरूप्रति आफूहरू संयमित रहेको भन्दै सरकारले माग सम्बोधनमा ढिलाइ गरे माइतीघरबाटै बिरामी हेर्न सुरु गर्ने उनले बताए ।
भक्तपुर अस्पतालको आईसीयूमा कार्यरत डा. रोजी थपलिया डाक्टहरूमाथि श्रंखलावद्ध रुपमा बढेको आक्रमणको घटनाले ‘सिरियस केस’ हेर्न डर लाग्ने बताउँछिन् । ‘दिनानुदिन श्रंखलावद्ध रुपमा डाक्टरहरूमाथि कुटपिटको घटना घटिरहेका छन्’, मेडिकल अधिकृत डा. राेजी भन्छिन्, ‘जसकारण हामी केही गर्न नसक्ने अवस्थामा पुगेका छौं । हाम्रा हातहरू काँपेका छन् । सिरियस केस हेर्न डर लाग्छ । म एउटा आईसीयूमा कार्यरत डाक्टर हुँ । बिरामी राखिन्छ । कुन बेला कुन बिरामीको अवस्था कस्तो हुन्छ ? तर हामीले बचाउने कोसिस जारी राख्दाराख्दै पनि कहिलेकाहीँ बिरामीको ज्यान गयो भने हामीमाथि आक्रमण हुन्छ । त्यो अवस्थामा हामीले कसरी काम गर्नै ?’
सरकारले काजगमा नभएर काममार्फत आफूहरूको माग पूरा गर्नुपर्ने डा. थपलिया बताउँछिन् । ‘हाम्रो माग पेपरमा साइन गरेर होइन, अगाडि काम गरेर देखाउनुपर्यो । त्यसपछि आन्दोलन रोकिन्छ । नभए यो आन्दोलन जारी रहन्छ’, उनले भनिन् ।
पछिल्लो समय कहाँ कहाँ कुटिए चिकित्सक ? के भन्छ प्रहरी ?
पछिल्ला दिनमा चिकित्सक कुटिएका घटना बढ्दै गएका छन् । हेटौंडाको सञ्चो अस्पतालमा साउन २२ गते भर्ना भएका बिरामीलाई भोलिपल्ट चितवन रेफर गरियो । उपचारका क्रममा साउन २५ गते बिरामीको मृत्यु भएपछि सञ्चो अस्पतालका दुई चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण भयो ।
असोज ७ गते लम्जुङमा बेसीसहर ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले नर्सिङ कक्षमै डा. सन्दीप अधिकारीमाथि हातपात गरे । उता, पोखराको मणिपाल अस्पतालमा पनि एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरे । अस्पतालमै डा. अनिल शाहमाथि हातपात भएको हो ।
मणिपाल पुगेका प्रहरीले पनि चिकित्सकमाथि हातपात गरेको आरोप छ । प्रहरीले चिकित्सकमाथि लाठी बर्साएका थिए । प्रहरी इन्स्पेक्टरले नै चिकित्सकमाथि लाठी प्रहार गरेर आएको भन्ने भिडियो नै सार्वजनिक भएको भन्दै चिकित्सकहरूले प्रहरी इन्सपेक्टरमाथि पनि कारबाहीको माग गरेका छन् ।

यी नै घटनालाई लिएर चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भइरहँदा प्रहरीले भने डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अघि बढाइसकेकाे बताएको छ । अनावश्यक रुपमा डाक्टरहरूमाथि कुटपिट गर्नेहरूलाई आफूहरूले कारबारही गरिरहेको केन्द्रीय प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक कुवेर कडायतको दाबी छ ।
‘हामीले चिकित्सकमाथि अनावश्यक रुपमा कुटपिट गर्नेमाथि कारबाही अघि बढाएकै छौं’, उनले भने, ‘कारबाही प्रक्रिया सबै ठाउँ अगाडि बढेकै छ । पोखराको दुईजनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । हेटौंडा, धरान सबैतिर हामीले दोषीलाई उन्मुक्ति दिएका छैनौं ।’
गृह मन्त्रालयले पनि स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने कार्यमा संलग्नलाई प्रशासनीयक एवं कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाउँदै पोखराको घटनामा दोषी देखिएका सुरक्षाकर्मीलाई बारबाही गरिएको स्पष्ट पारेको छ ।






















प्रतिक्रिया