काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालबाट इजरायल गएका विद्यार्थी विपिन सुबेदीले पाँच जना साथीहरुलाई सँगै राखेर एक भिडियो बनाएका छन् । उनले सरकारलाई तत्काल उद्वार गरिदिन गुहार मागेका छन् । तर सरकार शव चाहिँ ल्याउने तयारीमा रहेको छ ।
‘राति बस्दाखेरि मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । श्वास नपुगेको अनुभव हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ? आज दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् ।’, भिडियोमा विपिनले सहयोगको याचना गरेका छन् ।
उनले नेपाल सरकारलाई थप भनेका छन्, ‘हजुरहरुले मिटिङ गर्नुस् वा जे गर्नुस् । तर तीन दिन भयो । त्यो पनि त सोचिदिनुस् । भारतले एकजना टिकटक स्टारलाई प्लेन चार्टर गरेर भारत लाग्यो भनेर समाचारमा सुन्छौं । नेपाल सरकारले यत्रो विद्यार्थीलाई केही पनि गर्न सक्दैन हो ?’
यो उनको आत्तिएको बोलीले नै उनीहरु मानसिक रुपमै कमजोर बनेको देखाइसकेको छ । तर यता सरकार भने नेपालीहरुको त्यो अवस्था थाहा नभएको बताउँछ । यस विषयमा बुझ्न नेपालको परराष्ट्र मन्त्रालयका सह–सचिव शरदराज आरणलाई सम्पर्क गर्दा उनले त्यस्तो केही नभएको जिकिर गरे । उनले सहज अवस्था आएपछि उद्वार गर्ने बताए । जबकि सहज अवस्था भएपछि त नेपालीलाई उद्वारको आवश्यकता नै पर्दैन ।

उनले नेपालीहरुलाई त्यहाँको अवस्था शान्त भएपछि मात्रै उद्वार गर्न सकिने बताए । उनले भने, ‘हामी समन्वय गरिरहेका छौं । उताको अवस्था विस्तारै सहज हुँदै गएको छ। हिजोको जस्तो अवस्था छैन आज । अब हाम्रो पहिलो प्राथमिकता शव ल्याउने हुनेछ । त्यसपछि नेपाल फर्कन चाहने र बंकरभित्र रहेकालाई सहयोग गर्ने गरी कुराकानी भइरहेको छ ।’
‘भिडियोमा नेपालीहरु देशमा फर्कन चाहेको भनेर सरकारसँग गुहार मागिरहेका छन नि’ भन्ने प्रश्नमा आरणले भने, ‘हैन, हैन त्यस्तो छैन । हामीले सबै विषय इजरायली पक्षलाई जानकारी गराएका छौं । उहाँहरुले सहजिकरण गरिरहनुभएको छ । हामीले एम्बेसीलाई पनि भनेका छौं । त्यहाँबाट पनि सहजिकरण भइरहेको छ ।’
उनले इजरायली सरकारले आब्हान गरेको सुरक्षा नीति पालना गरेर बस्न नेपालीहरुलाई अनुरोध गरे । भिडियोहरु सार्वजनिक गर्दा असुरक्षित हुनसक्ने भन्दै उनले सामाजिक सञ्जालहरुमा भिडियोहरु सार्वजनिक नगर्न पनि अनुरोध गरे । ‘अहिले इजरायल सरकारले सुरक्षा सतर्कता के अपनाएको छ, त्यही अनुसार धैर्य गर्नुपर्यो’, आरणले भने, ‘‘सिच्वेसन नर्मल’ हुँदैछ । हामीहरु पनि स्वदेश फर्काउने र शवहरु ल्याउने तयारीमा लागिरहेका छौं ।’
संयुक्त राष्ट्रसंघका लागि पूर्व नेपाली राजदूत जयराम आचार्य नेपालले अन्य छिमेकी देशहरुसँग सहयोग मागेर भए पनि पहिलो प्राथमिकतामा नेपालीहरुलाई उद्वार गर्नुपर्ने बताउँछन् ।
अनलाइन पानासँगको कुराकानीमा उनले भने, ‘यदि नेपालीहरु सहयोगको याचना गरिरहेका छन भने भारतसँग पनि कोअर्डिनेसन गरेर नेपाली नागरिकहरुको उद्वार गर्न आवश्यक छ । सहयोग खोज्ने यस्तै दुःख परेको बेलामा त हो नि ! तपाईँहरुको यात्रु ल्याउदाखेरी हाम्रा नागरिक पनि ल्याइदिनु पर्यो भनेर भन्न सक्नुपर्यो । अरु देशले आफ्ना नागरिक लैजाँदा नेपालले ल्याउन नसक्नु नेपालको कूटनीतिक कमजोरी हो ।’
उता पर्यटन मन्त्रालयले इजरायली पक्षसँग समन्वय मिलेमा जहाज पठाएर शब ल्याउने तयारी रहेको जानकारी दिएको छ । मन्त्रालयले सोमबारको बैठकबाट जहाज इजरायलबाट शब ल्याउन तयारी अवस्थामा राख्ने बताएको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको भनेर जानकारी त गराएको छ । तर त्यहाँको अवस्था शान्त भएपछि मात्रै उद्वार गर्न सकिने नेपालले परराष्ट्र मन्त्रालयले बताएको छ । दूतावासले स्वदेश फिर्ता हुन चाहनेले दूतावासमा सम्पर्क गर्न भनेको छ ।
हमासले अचानक रुपमा इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको ज्यान गइसकेको छ भने एकजना अझै बेपत्ता छन् । चार जना घाइते भएको बताइएको छ । दुईजना सकुसल रहेको बताइएको छ । अहिले हमास र इजरायलबीच द्वन्द्व भइरहेको ठाउँमा १७ जना नेपाली रहेको दूतावासले जानकारी दिएको छ । १७ जना द्वन्द्वमा फसिरहेको दूतावासले जानकारी गराएको हो । तर आज पाँच जनाले एकै ठाउँबाट उद्दार गरिदिन र आफूहरुको आँखै अगाडि दश जनाको ज्यान गएको बताएका छन् । कोही घाइते अवस्थामा रहेको बताइएको छ ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ । चार जनाको उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।
अहिलेसम्म इजरायल र प्यालेस्टाइनको युद्वबाट हजारौं नागरिकहरुले ज्यान गुमाइसकेका छन् । युद्व अझै रोकिएको छैन् । विभिन्न देशहरुले आफ्ना नागरिकहरुको उद्वार गरिरहेका छन् । अहिले हंगेरीले आफ्ना देशका नागरिकहरुलाई स्वदेश फिर्ता लगेको छ । उसले स्वीडेन, जर्मनी र अष्ट्रियाका पनि नागरिकको उद्दार सुरु गरेको छ । पोल्याण्डले पनि आफ्ना लगायत यूरोपियन देशका नागरिकहरुको उद्दार गरिसकेको छ ।
कूटनीतिक क्षमतामा सधैँ प्रश्न
तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला रोजगारीमा परदेशीन बाध्य १२ जना नेपालीको इराकमा भएको हत्या अझै पनि नेपालीहरुको मानसपटलमा ताजै छ। घटना २०६१ साल भदौंको हो । पाँच तारे होटलमा काम गर्न भनेर गएका नेपालीहरु इराकको बिद्रोही समूहको हातमा पुग्छन् । इराकको आर्मी अफ अल सुन्नाह अल अन्सार बिद्रोही ग्रुपले वि.स. २००६१ साल भदौं ६ गते १२ जना नेपालीलाई अपहरण गर्छ । उसले त्यसको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्छ । उनीहरुलाई अमेरिकी झण्डा बोक्न लगाएर फोटो तथा भिडियो वेबसाइटमार्फत सार्वजनिक उक्त समूहले गर्छ । त्यतिबेला इराकको युद्वपछि उक्त समूह अमेरिकासँग रुष्ट रहेको हुन्छ । अमेरिका र उसका ‘एलाइन्स’ देशहरुका नागरिकहरुमाथि यो समूहले आक्रमण गरिरहन्छ ।
नेपालीहरु बिनाकारण यो आतिवादी समूहको फेला पर्छन् । त्यतिबेला नेपालका राजा ज्ञानेन्द्र शाह थिए । प्रधानमन्त्री शेरबहादुर देउवा । श्रम मन्त्री थिए, रघुजी पन्त । र विदेश मन्त्री थिए अहिलेका अर्थमन्त्री प्रकाशशरण महत । पाँच तारे होटलमा काम गर्न पठाउने मुनलाइट मेनपावर कम्पनी थियो ।
१२ जना नोपली अपहरण गरेको समाचार पहिला अलजजिराले प्रकाशित गरेको थियो । त्यसपछि नेपाली मिडियाहरुमा पनि यो समाचार प्रकाशित भयो । सरकारले पनि यो विषयमा जानकारी पायो । तर १२ नेपाली जो इराकमा अपहरणमा परेका थिए, उनीहरुको उद्वार नेपाली राजदूतावासले गर्न सकेन् । नेपालको परराष्ट्रमन्त्रालयले पनि केही गर्न सकेन् ।
तीन सदस्यीय घटनाको छानबिन समिति बनाएर बसेको सरकारले उनीहरु अपहरणमा परेको १२ दिनसम्म कुनै उपलब्धि हुने काम गर्न सेकन् । अन्ततः १२ दिनको दिन उक्त अपहरणकारी समूहले एकजना नेपालीको टाउको काटेर हत्या गरेको र अरुको लाइनमा राखेर गोली हानेको भिडियो तथा फोटोहरु फेरि उक्त वेबसाइटमार्फत सार्वजनिक गर्यो । त्यसपछि नेपाली नागरिकहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिए ।
अहिले पनि नेपालको कूटनीतिक क्षमतामा त्यही बेलाको जस्तै प्रश्न खडा भइरहन्छ । तत्कालीन समयमा भारतका नागरिकहरु पनि त्यही समूहको अपहरणमा परेका थिए । भारतले भने सबै नागरिकलाई आफ्नो देशमा ल्याउन सफल भयो ।
अहिले पनि नेपालको कूटनीति कमजोर हुँदा नेपालीहरु इजरायलको युद्धमा पीडित बन्न पुगेका छन् । नेपालीहरु सँगै अरु देशका पनि नागरिक हमास समूहको आक्रमणमा परेर हताहत भएको खबरहरु आएका छन् । बाँच्न सफल भएका र घाइते अन्य देशका नागरिकहरुलाई उनीहरुका देशले इजरायलबाट उद्दार गरेर स्वदेश फर्काइरहेका छन् । तर नेपालले भने आफ्ना नागरिकहरु फर्काउन सकेको छैन् ।
भारतले हिजै उसका नागरिक इजिप्ट पुर्याएको छ । एक अभिनेत्री नुसरत भारुचालाई हवाईमार्फत स्वदेश फर्काएको छ । अन्य देशहरुले पनि आफ्ना देशका नागरिक स्वदेश फर्काइरहेका छन् । नेपालले भने अझै आफ्ना नागरिक सुरक्षित स्थानमा ल्याउन सकेको छैन् । बंकरभित्रैबाट नेपाली नागरिकहरु सरकार गुहारिरहेका छन् ।
नेपालीहरु अहिले द्वन्द्व भइरहेको गाजा आसपास क्षेत्रमा रहेको सरकारलाई पनि थाहा छ । परराष्ट्रमन्त्री एनपी साउदले हिजै संसदमा त्यसको फेहरिस्त सुनाएका थिए । तर नेपालीको उद्वारामा भने सरकार असफल भइसकेको छ । परराष्ट्रमन्त्री साउदका अनुसार ‘लर्न एण्ड अर्न’ अन्तर्गतको इजरायलको अनुदान सहयोगमा नेपालका २६५ जना कृषिका विद्यार्थीहरु इजरायल पुगेका छन् । ती मध्ये १७ जना इजरायल र हमास समूहबीच द्वन्द्व भइरहेको ठाउँमा रहेका र तिनीहरुमध्ये १० जनाको ज्यान गइसकेको पुष्टि भएको छ । एकजना बेपत्ता भएको र अन्य केही घाइते भएको त कोही बंकरमा खानाबिना लुकिरहेको समाचारहरु आइरहेका छन् । अन्य ठाउँका नेपालीहरु पनि त्रसिद भएका छन् । तर सरकारले भने उनीहरुलाई उद्वार गर्न बैठक गर्नेबाहेक अन्य केही गर्न सकेको छैन ।




















प्रतिक्रिया