काठमाडौं । सत्ता साझेदार दलबाटै पछिल्लो समय सरकारको चर्को ओलाचना हुँदै आएको छ । खासगरी नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि खनिने गरेका छन् ।
असोज १७ गते कपिलवस्तु पुगेका कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै भने, ‘सरकार या सच्चिनुपर्यो, होइन भने छाड्नुपर्याे । अर्को विकल्प छैन । कांग्रेस नेतृत्वको सरकार आवश्यक परिसकेको छ ।’ सरकारकै कारण अहिले आर्थिक तथा सामाजिक सबै हिसाबले देश अफ्ठ्यारो परिस्थितिमा पुगेको उनको आरोप थियो ।
त्यसको तीन दिनपछि काठमाडौंमा आयोजित कार्यक्रममा पुनः नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई अराजक बनेको टिप्पणी गरे । नेता कोइरालाले भने, ‘उहाँले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्, म जातीय राज्य दिन्छु भन्नुभयो । के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो ? उहाँले चाहँदैमा हुँदैन । जातीय, धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन ।’
पछिल्लो समय नेता कोइरालाले आफू सहभगी कुनै पनि कार्यक्रममा प्रचण्ड सरकारलाई अछुतो छाडेका छैनन् । गत पुस १० मा नेकपा एमाले, रास्वपा र राप्रपालगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डमाथि अहिले राष्ट्रपति निर्वाचनले बदलेको कांग्रेससहितको गठबन्धनको समर्थन छ । आलोपालेको सहमति भंग हुनसक्ने डरले संस्थापन पक्ष प्रचण्ड सरकारप्रति मौन रहेपनि इतर पक्षले तिखो टिक्काटिप्पणी गर्दै आएको छ ।
सत्ता साझेदार दलबाटै प्रशंसाको साटो आलोचनाकाे बाढी आइरहेका बेला सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले वामपन्थी सहकार्य तथा एकताको तुरुप फालेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी उपमहासचिव वर्षमान पुनले एमालेसँग फेरि सहकार्यसहित पार्टी एकतासम्म हुन सक्ने सम्भावना रहेकाे बताएका हुन् । ‘हिजो हामीले नेकपा बनायौं, यद्यपि टिकाउन सकिएन । इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । कम्युनिष्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, गठबन्धन या पार्टी एकता कुनै पनि रूपमा जाने सम्भावना छ’, उनले भने ।
मध्यावधि निर्वाचनभन्दा एक खुड्किलो अघि रहेको कोशी प्रदेशबाटै सहकार्यको सुरुवात होस् भन्ने कतिपय एमाले–माओवादी नेताहरूकाे चाहना छ । यो सम्भवानालाई पनि नकार्न नसकिने माओवादी सचिव साह बताउँछन् ।
यद्यपि उपमहासचिव पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन गरेकोमा असन्तुष्टि जनाउँदै यस्तो बताएका थिए । तर सत्तारुढ दलभित्र खटपट बढिरहेका बेला उनको यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेता पुन स्वयं वामपन्थी एकताका पक्षधर हुन् । २०७५ जेठमा एमाले–माओवादी एक हुँदा पुनले महत्वपूर्ण भूमिका खेलेका थिए भने गत १० पुसमा प्रचण्डलाई बालुवाटारबाट बालकाेट पुर्याउनमा पनि उनकाे हात थियाे । त्यसाे त उत्तरी छिमेकी मुलुक चीनले नेपालमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउन सधैँ प्रयास गरिरहेको हुन्छ ।
भर्खरै प्रधानमन्त्री प्रचण्डले चीनकाे एक साता लामाे भ्रमण सकेर फर्किएकाले कांग्रेस (खासगरी संस्थापन पक्ष) गठबन्धन नफुटाेस् भन्नेमा सचेत छ । त्यहीमाथि चीनसँग नजिक रहेका माओवादी नेता पुनले वामपन्थी एकताकाे पक्षमा अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिनु अस्वभाविक हाेइन ।
माओवादी सचिव गणेश साह एमालेसँगको सहकार्य हुन सक्ने कुरालाई नकार्न नसकिने बताउँछन् । तर कांग्रेसबाट आएको आलोचनाहरूलाई भने आफूहरूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।
‘एमालेसँग एकतासम्म नै सोच्न त अहिले नै सकिँदैन । तर सहकार्य हुने कुरालाई नकार्न सकिँदैन’, सचिव साहले भने, ‘अहिले जसरी कांग्रेसले कुरा उठाइराखेको छ, आलोचना गरेपनि सरकारको विरुद्धमा गइहाल्ने पक्षमा सिंगाे कांग्रेस देखिँदैन । त्यो के हुन सक्छ भने पार्टीमा पनि दबाब बढाउने, सरकारको विरोध गरेर छोरी कुटेर बुहारी तर्साउने जस्तो होला । अर्को चाहिँ सरकारको पर्फमेन्स अलिकति प्रभावकारी बनाउन यस्ता खोलको दबाब दिइन्छ । यसलाई अस्वभाविक मान्नु हुँदैन ।’
मध्यावधि निर्वाचनभन्दा एक खुड्किलो अघि रहेको कोशी प्रदेशबाटै सहकार्यको सुरुवात होस् भन्ने कतिपय एमाले–माओवादी नेताहरूकाे चाहना छ । यो सम्भवानालाई पनि नकार्न नसकिने माओवादी सचिव साह बताउँछन् ।
के भन्छ एमाले ?
एमालेले भने कांग्रेसँग असमझदारी बढ्दा माओवादी नेताहरूले वामपन्थी सहकार्य र एकताको चर्चा चलाउने गरेको प्रतिक्रिया दिएकाे छ । रणनीतिक दाउपेचअन्तर्गत माओवादी उपमहासचिवबाट सहकार्य र एकताको विषयमा धारणा आएको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।
‘जतिजति बेला कांग्रेससँग उहाँहरूको असमझदारी बढ्छ, यस्तो बेलामा चाहिँ वामपन्थी एकताको चर्चा चलाउनुहुन्छ’, उनले भने, ‘यो एउटा उहाँहरूको रणातीनिक दाउपेचअन्तर्ग गरिएको टिप्पणी हो । यसमा इमानदारीता पनि छैन र त्यो सम्भावना पनि छैन ।’
विगतमा भएको पार्टी एकतालाई प्रचण्ड स्वयंले तोडेपछि त्यसलाई बिर्सेर प्रचण्डलाई नै प्रधानमन्त्री बनाएको तर प्रचण्ड पुनः कांग्रेसँग गएकाले अहिले माओवादीसँग सहकार्यको सम्भावना नरहेको उनले स्पष्ट पारे । तर एमालेका कतिपय नेता भने सदा बामपन्थी एकताकाे पक्षमा छन् ।
यसो भन्छन् विश्लेषक
अहिले राजनीतिक दलहरू अवसरवादी भएकाले उनीहरूसँग कुनै इमान नहुने हुँदा जुनसुकै बेला जोसुकैसँग सहकार्य गर्न सक्ने विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी एमाले र माओवादी सहकार्यको विषयमा जे पनि हुन सक्ने बताउँछन् । ‘दलहरू सबै अवसरवादी भएका छन् । अवसरवादीको कुनै इमान हुँदैन, संस्कार र प्रतिबद्धता हुँदैन । त्यसकारण जे पनि हुनसक्छ’, उनले भने ।
पहिला पनि ओलीविरुद्ध अभियान चलाएका प्रचण्ड ओलीकै प्रधानमन्त्री भएकाे र पछि शेरबहादुर देउवाकहाँ गएकाले अब फेरि समीकरण फेरेर अर्को घिनलाग्दो खेल हुँदा कुनै नाैलाे नहुने डा. केसीकाे टिप्पणी छ । ‘पहिला पनि ओलीविरुद्ध अभियान चलाएका प्रचण्ड ओलीकै प्रधानमन्त्री भए, पछि फर्केर देउवाको प्रधानमन्त्री भए घिनलाग्दो गरी । फेरि ओलीसँग गए भने त्यो मरेको दिन हो म कल्पना गर्न चाहन्न’, उनले भने ।




















प्रतिक्रिया