Logo

प्रमुख समाचार

कोशीमा माओवादीका इन्द्र आङबो मुख्यमन्त्री बन्ने निश्चितप्रायः, शेखर पक्ष असन्तुष्ट

माओवादीलाई मुख्यमन्त्री दिन शेखर पक्षलाई फकाउँदै देउवा



काठमाडौं । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच माओवादी आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत भएको स्रोतले जानकारी दियो । नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्री बन्ने भएका हुन् । यद्यपि नेपाली कांग्रेसको संस्थापन इतर पक्ष यसमा सहमत छैन ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरुको संख्या बढेको थियो । कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगोमा पुग्न नकिरहेका बेला शुक्रबार बिहान मात्रै निर्णय लिनेगरी कोशीको मुख्य निर्णायक मानिएको राप्रपाले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।

केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट पनि गरेका थिए । तर मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका प्रचण्डले राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, तर आफूहरुलाई साथ दिने सन्देश कांग्रेस नेताहरुलाई दिएपछि सभापति शेरबहादुर देउवा माओवादीका आङ्बोलाई समर्थन गर्न तयार भएका स्रोतको दाबी छ ।

‘माननीय आङ्बो मुख्यमन्त्री बन्ने पक्कापक्की भयो’, माओवादी निकट स्रोतले भन्यो, ‘कांग्रेसको इतर पक्षको त केही नै लाग्दैन । अहिले  सभापति देउवाले जे निर्णय लिनुहुन्छ त्यही अन्तिम भन्दा फरक पर्दैन । उहाँ नै तयार भएपछि हामीले मुख्यमन्त्री पाउने पक्का जस्तै हो ।’

झापा ३ को राजनीतिका कारण कृष्णप्रसाद सिटौला र लिङ्देनको सम्बन्ध राम्रो नरहेका कारण सिटौला निकटका उद्धव थापालाई समर्थन नगर्ने नीति राप्रपाले लिएको छ, जसकारण विगतमा दुई पटक विश्वास सिद्ध गर्न थापा चुकेका थिए । तर अहिले पनि थापाकाे दाबी थियाे । तर यसअघि दुई–दुई पटक मुख्यमन्त्री नियुक्त भएर पनि प्रदेशसभाबाट विश्वासकाे मत पाउन नसकेपछि माओवादीलाई छाड्न सिटाैला नै तयार भएका हुन् ।

थापा र शेखर पक्षका केदार कार्कीसहित अमृत अर्याल, भीम पराजुली पनि कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी थिए । पराजुलीले आफूलाई मुख्यमन्त्री बनाइदिन भन्दै बुधबार सभापति देउवालाई भेटसमेत गरेका थिए । तर देउवाले कांग्रेसबाट मुख्यमन्त्री बन्ने अवस्था बनेमा दलका नेता थापाबाहेकलाई  बनाउन नसकिने जवाफ दिएका थिए ।

धारा १६८ (५) बमाेजिम मुख्यमन्त्री बन्न दलकाे नेता नै हुन नपर्ने भएपछि अन्य प्रदेशसभा सदस्यले पनि आकांक्ष देखाएका हुन् । गठबन्धनमा रहेकाे अर्काे दल नेकपा एकीकृत समाजवादी काेशीका स‌ंसदीय दलका नेता राजेन्द्र राईसमेत मुख्यमन्त्रीका दाबेदार थिए ।

प्रदेशसभामा २९ सांसद रहेको कांग्रेसमा शेखरले आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान छोडेका छैनन् । सभापति देउवाले कोइराला पक्षलाई पनि मनाएर निर्णय लिने बताएका छन् ।

केही गरी संविधानकाे धारा १६८ काे उपधारा (५)  बमाेजिम सरकार गठन हुन नसके वा यस उपधारा बमाेजिम नियुक्त मुख्यमन्त्रीले विश्वासकाे मत पाउन नसके  प्रदेश मध्यावधि निर्वाचनमा धकेलिने छ । तर प्रदेशसभामा नेतृत्व गर्ने कुनै पनि दलहरू अहिले नै मध्याविधमा जाने मनस्थितिमा नरहेका कारण उपधारा ५ बमाेजिमकाे सरकार बनाउने र टिकाउने पक्षमै छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १८:०४   :  बजे

2.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।