काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले कोशी प्रदेश सरकार गठनका सन्दर्भमा केन्द्रीय सत्ता गठबन्धनले गरेको निर्णयलाई चुनौती दिएपछि राजनीतिक वृत्तमा नयाँ बहस छेडिएको छ । माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविरुद्ध कांग्रेसको डा. शेखर कोइराला पक्षले केदार कार्कीलाई नेकपा एमालेको समर्थनमा अघि सार्यो । अन्ततः कार्की मुख्यमन्त्री बनिछाडे ।
कांग्रेसका कार्कीलाई एमालेको समर्थनपछि त्यसको बाछिटा केन्द्रसम्म आइपुग्ने हो कि भन्ने कोणबाट बहस, व्याख्या तथा विश्लेषण भइरहेका छन् भने मुख्यमन्त्री कार्की स्वयं अब कसरी अघि बढ्लान् भन्ने धेरै चासो छ ।
एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपनि सभापति शेरबहादुर देउवाले कार्कीप्रति समर्थन जनाउँदै गठबन्धनको भावनाअनुसार अगाडि बढ्न भनेका छन् । नियुक्ति भएलगत्तै शनिबार काठमाडौं आएका कार्की साँझ देउवा निवास धुम्बाराही पुगेका थिए । स्रोतका अनुसार देउवाको आग्रहमा मुख्यमन्त्री कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिएका छन् ।
कोशीमा कांग्रेसको संस्थपान इतरले विद्रोह गरेपनि केन्द्रमा कांग्रेस–एमाले मिलनको प्रारम्भिक विन्दु नै नभेटियोस् भन्ने चाहना माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छ । राजनीतिका चतुर खेलाडी मानिने प्रचण्डले कोशीको घटनालगतै देउवा र स्वयं विद्रोही शेखरलाई केन्द्रीय गठबन्धन दायाँबायाँ हुन नदिने भनि कबुलियतनामा गराएर त्यो चतुर्याइँ देखाइसकेका छन् । जसमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’
प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्की आफूहरू सम्वद्ध गठबन्धकै मुख्यमन्त्री रहेकोसमेत बताइसकेका छन् । ‘नेपाली कांग्रेसका सभापति देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं’, शनिबार चितवनको भरतपुर विमानस्थलमा प्रचण्डले भने, ‘अहिले कार्कीजी कोशीको मुख्यमन्त्री हुनुभएको छ । उहाँ हाम्रै मुख्यमन्त्री हो ।’
देउवा र शेखरसँगको सहमतिपछि प्रचण्ड गठबन्धन दायाँबायाँ नहुनेमा केही ढुक्क देखिन्छन् । कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको उनको दाबी छ । आइतबार भरतपुरमा आयोजित कार्यक्रममा उनले एमालेमाथि कटाक्ष गर्दै भने, ‘अब कहिल्यै सत्तामा फर्किन पाइँदैन कि भन्ने लागेर विच्छिप्त भएकाहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् ।’
राजनीतिका चतुर खेलाडी मानिने प्रचण्डले कोशीको घटनालगतै देउवा र स्वयं विद्रोही शेखरलाई केन्द्रीय गठबन्धन दायाँबायाँ हुन नदिने भनि कबुलियतनामा गराएर त्यो चतुर्याइँ देखाइसकेका छन् ।
विभाजन ल्याउने उद्देश्यले नै कोशीमा एमालेले त्यस्तो कदम चालेको प्रचण्डको टिप्पणी छ । ‘अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए’ प्रचण्डको भनाइ छ, ‘तर त्यो षड्यन्त्र निस्तेज पारिएको छ । अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’
प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धन पूरै कार्यकाल चल्ने दाबी गरिरहँदा एमालेले भने सरकारको आयु तोकेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिलेको सत्ता गठबन्धन र प्रचण्ड सरकारको आयु बढीमा दुई महिना मात्र रहेको बताउँछन् । यो संकेत कोशीले देखाएको उनको भनाइ छ ।
‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले के संकेत गरिरहेको छ भने, १/२ महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छु’, आइतबार एक कार्यक्रममा उपाध्यक्ष पाण्डेले भने, ‘मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ ।’
सत्ता गठबन्धन विभाजन गर्ने चाहना र सत्तामोह नभएको जिकिर गरेपनि उपाध्यक्ष पाण्डको यही अभिव्यक्तिबाट एमालेको उद्देश्य पुष्टि हुन्छ । उनले संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा नभई केही तथ्य र सूचनाहरू नै प्राप्त गरेर बोलेको समेत बताएका छन् ।
यस्तो छ विश्लेषकहरूको विश्लेषण
विश्लेषकहरू भने तत्काल सत्ता समीकरणको सम्भावना न्यून देख्छन् । कोशीका सन्दर्भमा पार्टीमा आफ्नो ‘पोजिसन’का लागि शेखर कोइरालाले बार्गिनिङ मात्र गरेकाले एमालेको उद्देश्य तत्काल पूरा हुने सम्भावना कम रहेको राजनीतिक विश्लेषक डा. लोकराज बराल बताउँछन् । ‘शेखरले पार्टीमा पोजिसनको लागि बार्गिनिङ गरेका हुन् । जसरी पनि कोशीमा आफ्नालाई मुख्यमन्त्री बनाउनु थियो । बनाए पनि । पछि फेरि वक्तव्य निकाले । यसले के स्पष्ट पार्छ भने शेखरले आफ्नो फाइदाका लागि गरेका बार्गिनिङ चाहिँ सफल भयो’, विश्लेषक बराल भन्छन्, ‘अब गठबन्धन नै फुट्ने गरी अरु कदम चाल्लान् जस्तो मलाई लाग्दैन ।’
एमालेले चाहेजसरी कांग्रेस फुटाइहाल्ने आँट पनि अहिले नै शेखरले नगर्ने डा. बरालको विश्लेषण छ । ‘शेखर मार्फत कांग्रेसलाई पनि विभाजन गराउने एमालेको अर्को उद्देश्य हो । तर यो सजिलै होला जस्तो लाग्दैन’, उनले भने, ‘कांग्रेसमा पाँच/सात जना प्रादेशिक सांसद बोकेर शेखरले अहिले नै शेरबहादुरलाई पल्टाइहाल्लान् भन्न सकिँदैन । तर छिद्र प्वाल पार्ने कोसिस भाको हो ।’
कांग्रेस र अहिलेको सत्ता गठबन्धनलाई फुटाउन सकिन्छ कि भनेर एमालेले कोशीमा च्याँखे मात्रै थापेको उनको विश्लेषण छ । कांग्रेसले अहिले सत्ता गठबन्धन छाडेर एमालेसँग मिलिहाल्ने सम्भावना पनि कमै रहेको उनी बताउँछन् । ‘अहिले नै कांग्रेस एमालेसँग सति गइहाल्छ भन्ने मलाई लाग्दैन’, उनले भने ।
अर्का विश्लेषक डा. सुरेन्द्र केसी अहिले राजनीतिक दलहरू अवसरवादी भएकाले उनीहरूसँग कुनै इमान नहुने हुँदा जुनसुकै बेला जोसुकैसँग सहकार्य गर्न सक्ने बताउँछन् । ‘दलहरू सबै अवसरवादी भएका छन् । अवसरवादीको कुनै इमान हुँदैन, संस्कार र प्रतिबद्धता हुँदैन । त्यसकारण जे पनि हुनसक्छ’, उनले भने ।




















प्रतिक्रिया