Logo

कर्पोरेट फोकस

सहुलियत पसलमा समेत चिनी अभाव



काठमाडौं । दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा समेत चिनी छैन ।

उद्घाटनको दिनमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी प्रतिकेजीको ९७ रुपियाँमा किनेर ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गरेको खाद्य कम्पनीले सहुलियत पसल सुरु गरेको चौथो दिनदेखि भने सकियो भन्दै बिक्री गर्न छोडेको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछन् तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्छ ।

कालीमाटीको साल्ट ट्रेडिङमा चिनी किन्न कीर्तिपुर चोभारबाट आएकी विमला महर्जन र उनका दुई जना साथीले दुई केजी चिनी किन्न दिनै माया मार्नु पर्याे । शुक्रबार १० बजे चिनीका लागि लाइन बसेका उहाँहरूले दिउँसो २ बजे मात्रै दुई केजी चिनी किन्ने पालो आयो । “पैसा तिरेर किन्न पनि दिनभरि लाइन बस्नुपर्ने, के भो देशमा यस्तो ?” महर्जनले सुस्केरा हाल्दै भने ।

उपभोक्ताले खुला बजारमा १५० रुपियाँ तिर्दा पनि चिनी नपाएपछि दिन फालेरै भए पनि सरकारले सञ्चाालन गरेको साल्ट ट्रेडिङमा प्रतिकेजी ९७ रुपियाँको चिनी किन्न लाइन बस्न बाध्य छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको गैरजिम्मेवारपनले गर्दा अहिले चिनीमा उपभोक्ताले दुःख पाएको आरोप लगाए ।

उनले भने, “अहिले यो अवस्था आउँछ भनेर नै सरकारलाई असारदेखि नै अनुदानको चिनी खरिदका लागि झक्झाउँदै आएको तर सरकारले कानमा तेल हालेर बस्यो, नागरिक दुई केजी चिनीका लागि दिनभरि भोकतिर्खा नभनी लाइन बस्न बाध्य भए ।”

“सरकारले २० हजार टन चिनी खरिदको अनुमति दिनु रहेछ त बेलैमा दिएको भए त अहिले नागरिकले यो अवस्था भोग्नु पथ्र्यो ?” प्रश्न गर्दै उनले भने, “नागरिकप्रति जिम्मेवार भएको भए पो चासो, अहिले बजारमा चलेको लुट हेर्दा देशमा सरकार भएको आभास गर्न सकिएको छैन ।”

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले चिनी, तेल, नुन, चामल, दाल, चिउरालगायतका छुटमा बिक्री गरे पनि धेरै जसो उपभोक्ता चिनीकै लागि भिड लाग्ने गरेका छन् । कर्पोरेसनका बिक्री प्रबन्धक शाखाका प्रमुख प्रज्वल प्रधानले कर्पोरेसनमा किन्न आउने ६० प्रतिशत उपभोक्ता चिनी मात्रै किन्नका लागि आउने गरेको जानकारी दिए । उनका अनुसार कर्पोरेसनमा हाल भएको मौज्दात रहेको चिनी सकिने अवस्थामा पुगेको छ ।

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खाद्य कम्पनीले साल्ट ट्रेडिङसँग दुई पटक गरेर खरिद गरेको ३५ क्विन्टल चिनी तीन दिनमै सकिएको जानकारी दिए। चिनी राखेपछि बिक्री केन्द्रमा चिनीकै लागि मात्रै बढी भिड लागेको र खाद्य कम्पनीका आफ्ना चामल, दाल, गेडागुडी बिक्री गर्न झनै ‘डिस्टर्ब’ भएकाले दसैँअघि कम्पनीले चिनी बिक्री नगर्ने उहाँको भनाइ छ ।

चन्दका अनुसार कम्पनीले दाल, चामलबाहेक मङ्गलबारदेखि खसीबोका बिक्री गर्नुपर्ने भएकाले चिनी बिक्रीका लागि अहिले जोड गरेका छैनौँ । याे समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  ८ : १९ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।