Logo

कर्णाली प्रदेश

बैतडीमा असिनापानीले बालीनाली सखाप

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि वर्षा हुने



बैतडी । वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो ।

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ ।

वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन् । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।

२८ गतेदेखि पश्चिमी वायु भारतको जम्मुकास्मिर हुँदै नेपालको दार्चुलामा प्रवेश गरेको थियो । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो वर्षा हुने सम्भावना नभए पनि हल्कादेखि मध्ययम वर्षाले समस्या पार्न सक्ने भएकाले पूर्व सतर्कता अपनाउनु पर्ने मौसमविदहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १०:२८   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।