काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला र पुराना दलहरूविरुद्ध उठेको प्रश्न देश, जनता, लोकतन्त्र र शान्तिको हितमा नभएको बताएका छन् । उनले पूराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताए ।
नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे । ‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कारदेख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ’, उनले भने, ‘त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’
प्रधानमन्त्रीले प्रचण्डले पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए । उनले भने, ‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ ।’
प्रचण्डले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेदेखि नै दलहरूबीच सहमति र समझदारीको प्रयास गर्दै आएको जिकिर गरे । हिजो प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँगको भेट पनि त्यसैको कडी भएको उनले सुनाए ।




















प्रतिक्रिया