Logo

अर्थ

पहिलो त्रैमासमा घट्यो बैंकहरुको नाफा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष स्थानमा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंकहरुको वित्तीय सूचकले खराब प्रदर्शन गरेको छ । २० वाणिज्य बैंकमध्ये ११ वटा बैंकको नाफा घटेको छ ।

यस अवधिसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा समग्रमा १७.५९ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा देखिएको संकटको प्रभाव बैंकहरुमा पनि परेको स्पष्ट देखिएको छ ।

धेरैजसो बैंकहरुको खराब कर्जा बढेको छ । खराब कर्जा मेन्टेन गर्न बैंकहरुले इम्पेयरमेन्ट चार्ज छुत्याउँदा नाफामा दबाब देखिएको बैंकहरुको वित्तीय रिपोर्टले देखाएको छ ।

सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वाधिक नाफा आर्जन गर्न सफल भएको छ । यो बैंकले ३ महिनामा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यस्तै, सर्वाधिक नाफा कमाउनेको दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । यस बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । १८ वटा बैंकलाई पछि पार्न सफल भएतापनि नबिलको नाफामा गत आर्थिक वर्षको तुलनामा गिरावट आएको छ ।

ग्लोबल आइएमई बैंक १ अर्ब २२ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी, १ अर्ब १५ करोड १५ लाख रुपैयाँ नाफासहित चौथो स्थानमा प्राइम कमर्सियल बैंक रहन सफल भएनो छ भने हिमालयन बैंक एक अर्ब ५ करिड ६१ लाख रुपैयाँ नाफासहित पाँचौँ स्थानमा छ । हिमालयन बैंकले पहिलो त्रैमासमा आफ्नो नाफा ९८.३५ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रभु बैंकले १ अर्ब ३ करोड ४२ नाफा नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४६.७० प्रतिशतले बढेको छ ।

एनआईसी एशिया बैंक सातौँ नम्बरमा झरेको छ । बैंकको खुद नाफा १ अर्ब १ करोड रुपैयाँमा सीमित बनेको छ । यो बैंकको नाफा ४२.४९ प्रतिशतले घटेको छ । बलिया प्रतिस्पर्धी मानिने एनआईसी एशियाले यो त्रैमासमा खराब प्रदर्शन गरेको हो ।

अन्य बैंकहरुको खुद नाफा अर्बभन्दा तल रहेको छ । एनएमबि बैंकले ९६ करोड ३२ लाख नाफा कमाएको छ । यस बैंकको नाफा ६.३५ प्रतिशतले बढेको छ ।

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पहिलो त्रैमासमा ८२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस बैंकको नाफा २.०१ प्रतिशतले वृद्धि भएको छ ।

एभरेष्ट बैंकले ७८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफामा ९.४५ प्रतिशतले गिरावट आएको छ ।

माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख नाफा कमाएको छ भने सानिमा बैंकले ४८ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल एसबिआई, सिटिजन र कुमारी बैंकले क्रमशः ४७ करोड ९१ लाख, ४० करोड २४ लाख र २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नेपाल बैंकले १४ करोड २३ लाख नाफा कमाएको छ भने लक्ष्मी सनराइज बैंकले १० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी सिद्धार्थ बैंकको नाफा सबैभन्दा कम ४२ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा सरकारी स्वमित्व रहेको कृषि विकास बैंक भने घाटामा नै देखिएको छ। कृषि विकास बैंक पहिलो त्रैमासमा १ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ।

कसले बढाए सर्वाधिक नाफा ?

सर्वाधिक नाफा बढाउनेमा हिमालयन बैंक अगाडि देखिएको छ । यसको नाफा ९८.३५ प्रतिशतले बढेको छ । त्यसैगरी प्रभु बैंकले पनि आफ्नो नाफामा भारी वृद्धि गरेको छ । यस बैंकको नाफा ४६.७० प्रतिशतले बढेको छ ।

सर्वाधिक नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो नाफा ३३.४७ प्रतिशतले बढाएको छ ।

प्राइम बैंकको नाफा ३१.७३ प्रतिशतले बढेको छ भने माछापुच्छ्रे बैंकले २०.१८ प्रतिशतले नाफा बढाएको छ । ग्लोबल आईएमई, एन एम बि र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १३:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।