Logo

राजनीति

कर्मचारीहरुलाई मन्त्री रञ्जिताले भनिन्– ‘नागरिकको काम गर्न माथिको आदेश भन्दै कानुन नमिच्नू’



काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन् ।शुक्रबार गुठी संस्थानको ६० औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

‘कहिलेकाहीँ म कर्मचारीहरुले माथिको आदेश, फलानो नेताको आदेश, फलानो मन्त्रीको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको छु । तर, म भन्छु, कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्’, मन्त्री चौधरीले भनिन्, ‘यदि कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ । अथवा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।’

आम नागरिक तथा सेवाग्राहीहरुको काम चुस्तदुरुस्त ढंगबाट जिम्मेवार भएर गर्न उनले सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिइन् । गुठी संस्थानमा कर्मचारी तथा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको बताउँदै त्यसको समाधानका निम्ति आफू लागि परेको उनले बताईन् ।

‘गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएको छ । त्यसलाई अनुगमन, नियन्त्रण, नियमन तथा कारवाही गर्नका लागि कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव रहेको मैले बुझेको छु’, उनले भनिन्, ‘यस्ता खालका समस्या समाधान गर्न हामी छिट्टै ऐनको मस्यौदा छिट्टै तयार गरी संसदमा पेश गर्ने, विशेषगरी कर्मचारीको मूल गुनासोको रुपमा रहेको कर्मचारी विनियमावली स्वीकृतिको लागि मन्त्रालयले यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्नेछ । सो पश्चात् संस्थानको रिक्त पद पूर्तिको प्रकृया अगाडि बढाउने प्रतिबद्वता समेत व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १५:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।